मौद्रिक नीतिको असर : सेयर बजारमा पहिरो


२१ भाद्र २०७८, सोमबार
bank 1

काठमाडौं, २१ भदौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिका कारण लगानीकर्ता आत्तिँदा पुँजी बजार निरन्तर ओरालो लाग्ने क्रम जारी छ । सेयर बजार परिसूचक नेप्से तीन हजार दुई सय हाराहारीमा पुगेको पुँजी बजारमा पहिरो जाने क्रम नरोकिँदा छोटो समयमै नेप्से दुई हजार आठ सय वरिपरि झरेको छ ।

साताको पहिलो दिन आइतबार नेप्से अघिल्लो दिनको कारोबारको तुलनामा एक सय आठ अंकले घटेर दुई हजार आठ सय १८ बिन्दुमा झर्‍यो । जुन पछिल्लो नौ महिनाकै सर्वाधिक गिरावट हो । सोही दिन नेप्से एक सय ४७ अंकसम्म घट्न पुगेको थियो । कारोबारको अन्तिम समयमा भने नेप्से केही सुधार भएर बन्द भयो ।

सेयर लगानीकर्ता पुँजी बजार ओरालो लाग्नुमा राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज मुख्य दोषी रहेको आरोप लगाउँछन् । ठूला लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका निर्वतमान अध्यक्ष छोटेलाल रौनियार सर्वसाधारणको लगानीमा नियामक निकाय मालिक बन्न खोज्दा पुँजी बजार ओरालो लागेको दाबी गर्छन् ।

‘राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एउटा वित्तीय संस्थाबाट चार करोड र सबै वित्तीय संस्थाबाट १२ करोड रूपैयाँभन्दा बढी सेयर कर्जा लिन नपाइने व्यवस्था गरेपछि समस्या आएको हो,’ उनले भने, ‘त्यसैबेला धितोपत्र बोर्डले ५१ सूचीकृत संस्थालाई रातो सूचीमा राख्दा लगानीकर्ताको मनोबल थप खस्कियो ।’

चालु आर्थिक वर्षको मौद्रिक नीतिपछि सेयर लगानीकर्ताले करिब चार खर्ब रूपैयाँ गुमाइसकेको उनको भनाइ छ । ‘जनसंख्याको करिब १५ प्रतिशत सहभागी सेयर बजारमा दिनहुँ गिरावट आउँदा लगानीकर्ता घर न घाटका हुने अवस्था आएको छ,’ उनले भने, ‘त्यसैले यसबारे नियामक निकायले सोच्न जरूरी छ ।’

तीन साताअघि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै साना लगानीकर्ताले पनि कर्जा पाउन सकून् तथा बैंकको लगानी उत्पादनमूलक क्षेत्रमा जाओस् भनेर सेयर कर्जामा कडाइ गर्ने नीति लिएको थियो । त्यसअघि लगानीकर्ताले जतिसुकै सेयर कर्जा लिन सक्ने व्यवस्था थियो । अहिले मौद्रिक नीतिमा लगानीकर्ताले एउटा वित्तीय संस्थाबाट चार करोड र एकभन्दा बढी वित्तीय संस्थाबाट १२ करोड रूपैयाँसम्म सेयर कर्जा लिन पाउने व्यवस्था गरिएको छ । त्यस्तै परिवारमा एकजनाले मात्र यस्तो कर्जा लिन पाउने व्यवस्था गरिएको छ ।

विगतमा तोकिएभन्दा बढी कर्जा लिएको भए एक वर्षभित्र त्यसलाई मिलाउनुपर्ने समेत नीति बनेपछि लगानीकर्तालाई समस्या परेको बताइन्छ । हालसम्म बैंक तथा वित्तीय संस्थाले करिब ९५ अर्ब रूपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । ठूलो रकम सेयरमा लगानी भएको भन्दै नियामक निकायले कडाइ गर्न खोजेको हो । राष्ट्र बैंकका अधिकारीहरू सेयर कर्जामा लगानी बढ्दा त्यसको असर उत्पादनमूलक क्षेत्रले पर्याप्त लगानी नपाउने आंकलन गर्छन् ।

साताको पहिलो कारोबारमा नेप्से परिसूचक ओरालो लाग्नुका साथै सेयर कारोबार रकम पनि खुम्चिएको छ । आइतबार ११ अर्ब २४ करोड रूपैयाँको सेयर किनबेच भयो । सबै समूह घट्न पुगे । सबभन्दा बढी जीवन र निर्जीवन बिमा समूहको कारोबार र मूल्य घट्यो ।

बैंकिङ समूह ४४ अंकले घट्दा निर्जीवन बिमा पाँच सय १९, जीवन बिमा पाँच सय ११, विकास बैंक तीन सय ९४, फाइनान्स दुई सय ३९, होटल तथा पर्यटन एक सय ६१, जलविद्युत् दुई सय १६, उत्पादन समूह एक सय ७५, माइक्रोफाइनान्स एक सय ६२, व्यापार समूह दुई सय १६ अंकले घटे ।

दुई दर्जन कम्पनीको मूल्य १० प्रतिशतले घट्यो । रुरु हाइड्रोपावर, नेपाल फाइनान्स, हिमालय ऊर्जा विकास, बेष्ट फाइनान्स, नारायणी डेभलपमेन्ट, गुडविल फाइनान्स, जानकी फाइनान्स, अरुण काबेली, आइसिएफसी फाइनान्स, युनिभर्सल पावर, समृद्धि फाइनान्स, रिलायन्स फाइनान्स, सिइडिबी हाइड्रोपावरको मूल्य १० प्रतिशतले घट्यो ।

त्यस्तै पञ्चकन्या माई हाइड्रो, लिबर्टी इनर्जी, सिन्धु विकास बैंक, अपी पावर, माउन्टेन, ग्रिनलाइफ हाइड्रो, एभरेस्ट इन्स्योरेन्स संस्थापक समूह, पाँचथर पावर, दिव्येश्वरी हाइड्रो, घलेम्दी हाइड्रो, र श्री इन्भेस्टमेन्ट फाइनान्सको मूल्य पनि करिब १० प्रतिशतले घट्यो ।

राष्ट्र बैंकले साउन २९ मा चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको थियो । भदौ २ मा पुँजी बजारले सर्वाधिक नयाँ कीर्तिमान तीन हजार एक सय ९८ अंक कायम गरेको थियो । उच्च अंकको रेकर्डपछि त्यसयता पुँजी बजार १२ प्रतिशतले घटिसकेको छ । त्यस्तै भदौ ३ मा साढे २० अर्ब रूपैयाँको सर्वाधिक सेयर किनबेच भएको थियो । जुन रकम घटेर करिब आधामा झरिसकेको छ ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल पुँजी बजारको उकालो र ओरालो यात्रासँग केन्द्रीय बैंकलाई जोड्नुको कुनै अर्थ नहुने बताउँछन् । ‘राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्नुको उद्देश्य समग्र बैंकिङ प्रणालीमा सुधारका लागि हो,’ उनले भने, ‘यसले कसलाई हित हुन्छ÷हुुँदैन भन्ने कुनै सवाल होइन ।’ राष्ट्र बैंकको नीतिले पुँजी बजारमा असर पर्नुपर्ने कुनै कारण नरहेको उल्लेख गर्दै उनले यसमा लगानीकर्ताको मनोविज्ञानले काम गर्ने बताए ।

पछिल्लो समयमा सेयरप्रति आकर्षित हुने सर्वसाधारणको संख्या ह्वात्तै बढेको छ । एक वर्षको अवधिमा सेयर कारोबारका लागि हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या करिब दोब्बरले बढेर ४२ लाख पुगेको छ । त्यस्तै ३२ लाखले मेरो सेयर लिएका छन् । नौ लाखले हरेक दिनजसो अनलाइनमार्फत् सेयर कारोबार गर्छन् । गत वर्ष सेयर बजारबाट सरकारले १४ अर्ब २३ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो । कुल ४४ खर्ब रूपैयाँ हाराहारीमा पुगेको पुँजी बजार तीन सातामै ४० खर्ब रूपैयाँमा झरिसकेको लगानीकर्ताको भनाइ छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७