रोकिएन मानव बेचबिखन


२१ भाद्र २०७८, सोमबार
mahila
सांकेतिक तस्विर

काठमाडौं, २१ भदौं । कोभिड–१९ महामारीका कारण लामो समय बन्दाबन्दीको अवस्था रहँदा धेरै विषय ठप्प जस्तै बने तर मानव बेचबिखनको जालो भने यो समयमा पनि विश्वभर मौलाइरह्यो । बन्दाबन्दीमा मानव बेचबिखनका धेरै मुद्दा दर्ता भएन तर पूरै रोक भने लाग्न नसकेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमख दुर्गा सिंह औंल्याउछन् ।

यस वर्ष २२४ वटा मात्र घटना दर्ता हुनु कम संख्या हो । तथापि बन्दाबन्दीमा बेचबिखनको जालो सक्रिय रहनु गम्भीर विषय भएको उनी बताउँछन् । ब्युरोकै दर्ता खाता हेर्ने हो भने गत साल बन्दाबन्दीकै समयमा नुवाकोटका मधु श्रेष्ठले सविता नाम परिवर्तनलाई बिहे गर्ने बहानामा दुबईमा बेचेका थिए ।

नेपालमा ललाइफकाई गरेर वैदेशिक रोजगारका नाममा दुबई पठाए । त्यहाँबाट फर्केपछि विवाह गर्ने भन्दै विदेश जान लाग्ने खर्च भनेर एक लाख ३० हजारसमेत लिए । काम गर्न भनी पुर्‍याइएपछि अरबी घर मालिकले तलाई मैले १५ सय दिराममा किनेको हो भनेर जबरजस्ती करणी गर्न खोजेपछि सविता झसङ्ग भइन् ।

इन्कार गर्दा गर्दै तलबसम्म नदिने, शारीरिक र मानसिक यातनालगायतका अनेक दुःख दिन थालेपछि उनी भागेर गैरआवसीय नेपाली सङ्घको शरणमा पुगिइन् । सहयोगीको सहयोगमा अरबीलाई १५ सय दिराम र मुद्दा दायर गरेको अर्को १४ सय दिरामसमेत तिरेर उहाँ यसै वर्ष असार ९ गते स्वदेश फर्कन सफल भइन् । नेपालमा माइती नेपालको संरक्षणमा रहँदै पीडक मधु श्रेष्ठविरुद्ध मुद्दा हालिइन् । प्रहरीले उनको उजुरीका आधारमा पीडकलाई पक्राउ गरी कारबाही अघि बढाएको छ । यी जस्तै रोजगारको बहानामा बेचिने पुरुषभन्दा महिला बढी रहेको ब्युरोको त्रिवर्षीय तथ्याङ्कले देखाउँछ ।

जसअनुसार आर्थिक वर्ष २०७५ / ०७६ मा बेचिने पुरुषको सङ्ख्या ७१ हुँदा महिलाको सङ्ख्या ३१६ जना रहेका छन् । त्यस्तै २०७६ / ७७ मा पुरुष १४ र महिला ११९ जना बेचिएको घटना दर्ता भएको छ । आर्थिक वर्ष २०७७ /७८ मा पुरुष चार र महिला १८३ जना बेचबिखनमा परेको मुद्दा छ । मुद्दा दर्ताको हकमा तीन वर्ष नै भने महिलाले भन्दा बढी पुरुषले दर्ता गराएको पाइएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७