दरखोलाको बाढीले लघु जलविद्युत परियोजनाको विद्युत गृह बगायो


२१ भाद्र २०७८, सोमबार
badhi 1

म्याग्दी, २१ भदौं । दरखोलामा आएको बाढीले आइतबार राति म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा लघुजलविद्युत परियोजनाको पावर हाउस (विद्युत गृह) बगाएको छ ।

४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको नहर, बाँध र विद्युतगृह बाढीले बगाएको हो । लुलाङ आधारभूत विद्यालयका शिक्षक निकेश खड्काले दरखोलामा आएको बाढीले लघुजलविद्युत परियोजनाको संरचना बगाएको बताए ।

‘दरखोलाको बाढीले कटान गरेर लघुजलविद्युत परियोजना बगाएको हो,’ उनले भने ‘पावर हाउस भएको ठाउँमा खोला बगेको छ ।’ उनका अनुसार खबाङको दोभानमा रहेको बाँध, ७२५ मिटर लामो पाइपलाइन, मरेनीको फेदी र दरखोलाको किनारमा विद्युत गृहमा बाढीले क्षति गरेको छ ।

परियोजना बगाएपछि लुलाङ, खोरीया, मेरनी र लमसुङका ३६५ घरधुरीमा विद्युत आपुर्ति बन्द भएको छ । घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युतबाट चल्ने उपकरणमा आधारित साना उद्योग ठप्प भएका छन् ।

२०७६ साल कात्तिकमा एक करोड ५२ लाख रुपैयाँको लागतमा परियोजना निर्माण भएको थियो । यसअघि २०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युत गृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७