दार्चुला घटना र नेपाली आकाशमा हेलिकोप्टर उडाएको विषयमा सरकारले पठायो भारतलाई कूटनीतिक नोट


२२ भाद्र २०७८, मंगलवार
Jaya shingh dhami drone

काठमाडौं, २२ भदौं । सरकारले दार्चुला तुइन घटना र नेपाली आकाशमा हेलिकोप्टर उडाएको विषयमा कूटनीतिक नोट पठाएको छ ।
दार्चुलामा भारतका एसएसबीले तुइन चुडाउँदा जयसिंह धामी बेपत्ता भएको विषयमा सरकारले झण्डै दुई महिनापछि भारतलाई कूटनीतिक नोट पठाएको हो । दार्चुला घटनाको विषयमा सरकार मौन बसेपछि सर्वत्र आलोचना भएको थियो ।

सरकारले परराष्ट्र मन्त्रालयमार्फत दुवै पत्र कूटनीतिक च्यानलमार्फत पठाइएको उच्च स्रोतले जानकारी दियो । गृह मन्त्रालयले सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन समितिको प्रतिवेदन पठाएपछि परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाएको हो ।

१५ साउनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको तार काटिदिँदा दार्चुलाको व्यास नगरपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएपछि सरकार सो घटनाको विषयमा डेढ महिना मौन बसेको थियो ।

गत साता मात्रै गृह मन्त्रालयका सहसचिव नेतृत्वको छानबिन समितिले दार्चुला घटनाको विषयमा कूटनीतिक तवरमा हल गरिनुपर्ने सुझाव दिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाएको हो ।

समितिले एसएसबीको उपस्थितिमा घटना भएको र थप अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सिफारिस गरेको छ । समितिले प्रतिवेदन बुझाएपछि भारतका विदेश विभागका प्रवक्ता अरविन्दम बाग्छीले पत्रकार सम्मेलनमा आफूहरूलाई औपचारिक रूपमा महाकालीको घटनाको विषयमा कुनै जानकारी नभएको बताएका थिए । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७