एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्युमै विक्रमको ‘रेकर्ड’


२२ भाद्र २०७८, मंगलवार
BIkram Sob

काठमाडौं, २२ भदौं । विक्रम सोबले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेलको पहिलो बलमै विकेट लिंदै नेपालका लागि रेकर्ड बनाएका छन् । मंगलबार ओमानको अल अमिरात क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा उनले पहिलो बलमै विकेट लिँदै नेपालका लागि रेकर्ड बनाएका हुन् ।

सोबले आफ्नो स्पेलको पहिलो ओभरको पहिलो बलमा पीएनजीका टोनी उरालाई बोल्ड गर्दै आउट गरेका थिए । यस्तै उनले आफ्नो स्पेलको दोस्रो ओभरको अन्तिम बलमा पीएनजीका कप्तान असद भालालाई पनि आउट गरेका छन् ।

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्युको पहिलो बलमा विश्वका विभिन्न २७ जना खेलाडीले विकेट लिएका छन् । नेपालका लागि भने सोब यस्तो रेकर्ड राख्ने पहिलो खेलाडी हुन् ।

एक दिवसीय अन्तर्राष्ट्रियमा पहिलो बलमै विकेट लिने विक्रम एशोसिएट क्षेत्रका सातौं खेलाडी हुन् । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि सन् २०१८ अगस्त १ मा नेदरल्याण्ड्सविरुद्ध पहिलो खेल खेलेको थियो । उक्त खेलमा नेपालका कप्तान पारस खड्काले १० ओभरमा २६ रन खर्चदै ४ विकेट लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७