पशुपतिको जलहरी परीक्षण गर्दै अख्तियार

सदस्य सचिव थापासँग २ दिन लगाएर १२ घण्टा बयान, २२ जनामाथि अनुसन्धान गरिँदै


२३ भाद्र २०७८, बुधबार
pashupatinath

काठमाडौं, २३ भदौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीको पुनः परीक्षण गर्ने भएको छ । १०८ केजी सुनको जलहरी बनाउँदा कोषका वर्तमान र पूर्व पदाधिकारी तथा कर्मचारीले भ्रष्टाचार गरेको प्रमाण भेटिएपछि अख्तियारले जलहरीको पूर्ण प्राविधिक परीक्षण गर्न लागेको हो ।

स्रोतका अनुसार अख्तियारले कोषका सदस्यसचिव मिलनकुमार थापासँग सोमबार र मंगलबार १२ घण्टा बयान लिँदै १२ पाने कागज भराएको छ । थापा २०७८ भदौ १२ अघिसम्म कोषका कोषाध्यक्ष थिए । पर्यटनमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई भदौ १८ मा मन्त्रिपरिषद् बैठकबाट कोषको सदस्य सचिव नियुक्त गरेका थिए ।

जलहरी निर्माणमा भ्रष्टाचार गरेको आरोपमा सदस्यसचिव थापा, निवर्तमान सदस्यसचिव प्रदीपकुमार ढकालसहित पदाधिकारी र कर्मचारी गरेर २२ जनामाथि अख्तियारले विस्तृत अनुसन्धान गरिरहेको छ । निवर्तमान सदस्यसचिव ढकालको साउन ३१ मा कार्यकाल सकिइसकेको छ ।

पशुपतिको जलहरीमा ११ केजी सुन घोटाला !
२०७७ माघ ११ मा पशुपतिनाथको दर्शन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए । जलहरी फागुन १२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । तर कोषका ५ जना सदस्यले जलहरी निर्माणसम्बन्धी हिसाबकिताब माग्दा नपाएपछि अनियमितताको आशंका गरिएको थियो । त्यसपछि जलहरी राख्ने कार्यबारे उजुरी र प्राप्त कागजातका आधारमा अख्तियार अनुसन्धानका लागि तातेको थियो ।

केही दिनअघि मात्रै निवर्तमान सदस्यसचिव ढकाललगायतसँग अख्तियारले बयान लिइसकेको छ । ‘पूर्वपदाधिकारीसहित धेरै जनासँग बयान लिइसकेका छौं,’ स्रोतले भन्यो, ‘अब केहीसँग सोधपुछ र बयान सकेर जलहरीको प्राविधिक परीक्षण गर्ने योजना छ ।’ स्रोतका अनुसार कोषका पदाधिकारी र केही कर्मचारीको मिलेमतोमा चाँदी र तामाको परिमाण बढी राखेर जलहरी बनाइएको विषयमा अनुसन्धान भइरहेको छ ।

१ सय ३ केजी (२४ क्यारेटको गुणस्तर) सुनमा ३ प्रतिशत तामा र १ प्रतिशत चाँदी राखेर पगाल्ने भनिएको थियो । यसरी पगालेपछि २२ क्यारेटको सुन बन्छ । सोहीअनुसार १ सय ८ केजीको जलहरी बनाइएको विवरण अख्तियारले बरामद गरेको कोषको कागजातमा उल्लेख छ । जलहरी भने ९६ केजी ८ सय २२ ग्रामको मात्रै राखिएको पाइएको छ । बाँकी करिब ११ केजी सुन कसले गायब पा¥यो भन्ने विषयमा अख्तियारको अनुसन्धान केन्द्रित छ ।

त्यस्तै, तोकिएभन्दा बढी चाँदी र तामा मिसाएर सुन हिनामिना गरेको विषय पनि अनुसन्धानको प्राथमिकतामा परेको छ । यसका लागि अख्तियारले जलहरी निर्माणमा संलग्न कालिगडलाई समेत बोलाएर बयान लिने तयारी गरेको स्रोतले जनाएको छ ।

जलहरी बाहेक पनि अख्तियारले दानबाट प्राप्त नगद तथा जिन्सी सामानको हिसाबकिताबमाथि पनि अनुसन्धान गरिरहेको छ । सीसीटीभी जडान गर्दा पनि ठूलो रकम अनियमितता भएको अनुसन्धानबाट खुलेको स्रोत बताउँछ । दानबाट प्राप्त नगद र जिन्सीलाई आम्दानीको अभिलेखमा नराखी अनियमितता गरेको उजुरी केही महिनाअघि मात्रै अख्तियारमा परेको थियो ।

‘भगवानका लागि बनाइएको जलहरीमा त के भ्रष्टाचार भयो होला भनेर सूक्ष्म रूपमा सोचेका पनि थिएनौं । तर अनुसन्धान गर्दै जाँदा त भगवान् नै भ्रष्टाचारीबाट पीडित भएको पाइयो, यो त हिन्दु धर्मावलम्बीप्रति आस्था राख्नेकै लागि चोट पुग्ने गरी आर्थिक हिनामिना गरिएको रहेछ,’ अख्तियार स्रोतले भन्यो । अनियमिततामा जुनसुकै तहका कर्मचारी भेटिए पनि अनुसन्धानमा कठोर बनेर सत्यतथ्य बाहिर ल्याइने अख्तियारको भनाइ छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७