नेपालमा कोरोना संक्रमण : यसरी देखिँदैछ भ्याक्सिन अभियानको प्रभाव


२४ भाद्र २०७८, बिहीबार
corona khop 1
फाइल फोटो

काठमाडौं, २४ भदौं । नेपालमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको पाइएको छ । केही सातायता मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकहरुले जनाएका छन् ।

जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई सरकारले प्राथमिकता दिँदा रोग प्रतिरोधात्मक क्षमता बढ्न गई सङ्क्रमण घटेको चिकित्सकको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिने काम सरकारको पहिलो प्राथमिकता रहेको भन्दै यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसैले धेरै नागरिकले खोप पाएका र जोखिममा रहेका सङ्क्रमितमा पनि एन्टिबडीसमेत बनिसकेकाले सङ्क्रमण हुने व्यक्तिको संख्या घट्दै गएको विज्ञहरुले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले पछिल्लो साता सङ्क्रमण दरमा कमी आएको जानकारी दिए । पहिले परीक्षण गराएकामध्ये २२ प्रतिशतमा सङ्क्रमण देखिने गरेको थियो । अहिले पीसीआर परीक्षण गरेकामध्ये १३ देखि १५ प्रतिशतमा मात्रै सङ्क्रमण देखिने गरेको पौडेलले बताए ।

सङ्क्रमित हुनेको संख्यामा कमी आएपछि अस्पतालमा भर्ना हुने बिरामी पनि घटेका छन् । सङ्क्रमणको दोस्रो लहर आएसँगै साउनमा सङ्क्रमण दर बढे पनि अहिले घट्न थालेको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुपराज बाँस्तोलाले पहिलेभन्दा सङ्क्रमित भएर उपचार गराउन आउने विरामीको सङ्ख्यामा कमी आएको बताए । उनका अनुसार अहिले शुक्रराजमा सघन उपचार कक्षमा १३ जना मात्रै कारोनाका बिरामी छन् । त्यस्तै १५ जना एचडियु, तीन जना आकस्मिक कक्ष र तीन जना क्याविनमा उपचार गराइरहेका छन् ।

‘धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेकोले रोग प्रतिरोधात्मक क्षमता पनि बढेको छ,’ बाँस्तोलाले भने, ‘पहिले दैनिक २५ देखि ३० जना बिरामी आकस्मिक कक्षमा आउँथे । तर अहिले त्यो संख्या घटेर दैनिक बढीमा १० जनामा झरेको छ ।’ विगतमा समुदाय नै संक्रमित भएर निको हुँदा उनीहरुमा एन्टिबडी बनेकाले पनि कोरोना संक्रमण बढ्न नपाएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन १ गते १४ हजार १८२ जनाको परीक्षण गर्दा दुई हजार ९३६ मा सङ्क्रमण देखिएको थियो । तर गएको मंगलबार १५ हजार ३४ जनामा परीक्षण गर्दा एक हजार ६७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गत असार २२ गतेदेखि सबै प्रकारका व्यवसाय खुला र जोरबिजोर हटाउँदै सबै सवारी साधन सञ्चालन गर्ने गरी निषेधाज्ञालाई खुकुलो बनाइएको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालका डा.प्रविन नेपालले पनि पहिलेको तुलनामा सङ्क्रमित भएर आउने बिरामीको संख्यामा कमी आएको बताए । नेपालका अनुसार एक महिनाअघि दैनिक २० जना बिरामी आउने गरेकामा अहिले दैनिक पाँच÷छ जना मात्रै बिरामी आउने गरेका छन् । विगत १० दिनदेखि बिरामीको संख्यामा कमी समेत आएको उनले बताए ।

अस्पतालमा अहिले ७० जना बिरामी रहेका छन् । तीमध्ये १३ जना सघन उपचार कक्ष (आइसियु) र आठ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । नेपालमा गरिएको सर्वेक्षणमा ६८.६ प्रतिशत मानिसमा रोग प्रतिरोधात्मक क्षमता (एन्टिबडी) बनेको पाइएको छ । यस्तै एक मात्रा खोप लगाएका व्यक्तिहरुमा ८० प्रतिशतमा र पूर्णमात्रा खोप लगाएकामा ९० प्रतिशतमा एन्टिबडी बनेको मन्त्रालयले जनाएको छ । नेपालमा ५० वर्षभन्दा माथिका प्राय सबैले खोप लगाइसकेका छन् ।

नेपालमा दैनिक एक लाख जनाले खोप लगाइरहेका छन् । नेपालमा अहिलेसम्म ५६ लाख तीन हजार ७५७ जनाले पहिलो मात्रा र ५० लाख १२ हजार ८२१ जनाले पूर्ण मात्राको खोप लगाइ सकेका छन् । नेपालले कोभ्याक्स सुविधा, अनुदान र खरिद गरेर अहिलेसम्म एक करोड ३३ लाख खोप ल्याइसकेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्ने उपायहरुमध्ये भरपर्दाे उपाय खोप देखिएकाले नेपाल सरकारले यसमा प्राथमिकता दिएर खोप भित्र्याएको हो ।

सरुवारोग विशेषज्ञ डा.सागर राजभण्डारी खोप लगाएका र जनस्वास्थ्यका मापदण्ड लागू गरेकाले सङ्क्रमणमा कमी आएको बताउँछन् । हरेक दिन सभा, सम्मेलन जस्ता गतिविधिले फेरि सङ्क्रमण बढ्नसक्ने खतरा रहेको भन्दै यसका लागि सबैले ध्यान दिनुपर्ने उनको सुझाब छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पतालमा अहिले साधारण शय्यामा ५८ जना, आइसियुमा २९, भेन्टिलेटरमा २९ र हाइडिपेन्डेन्सी (एचडियु) मा ११ जना बिरामी उपचारत छन् । यस्तै वीरेन्द्र अस्पताल छाउनीमा चार जना साधारण शैंयामा, १९ जना एचडियु, १० जना आइसियु र तीन जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

यस्तै कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा (वीर अस्पताल) मा ८५ सङ्क्रमित बिरामीले उपचार गराइरहेका छन् । तीमध्ये ३३ जना आइसियु, २९ जना भेन्टिलेटर र छ जना एचडियुमा उपचारत रहेको वीर अस्पतालका निर्देशक डा.भूपेन्द्र बस्नेतले जानकारी दिए । ‘अहिले सङ्क्रमण दर स्थिर अवस्थामा छ,’ उनले भने, ‘प्रायः जोखिममा रहेका सबैले खोप लगाइसका र जनस्वास्थ्यका मापदण्ड लागू गरेको हुनाले सङ्क्रमण बढेको छैन ।’

गत फागुन र चैतमा पनि सङ्क्रमण बढेको थिएन । वैशाखमा सङ्क्रमणको दोस्रो लहर आएपछि सङ्क्रमण बढेको थियो । नेपालमा शुरुदेखि अहिलेसम्मको सङ्क्रमणदर भने १९.३ प्रतिशत रहेको छ ।

सरकारले असोजसम्म कूल जनसंख्याको ३३ प्रतिशत र चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दुई दिनअघि दिएको जानकारीअनुसार सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप ल्याउने अन्तिम तयारी गरेको छ ।

नेपालमा कोरोना संक्रमति निको हुने दर पनि दैनिक बढिरहेको छ । मन्त्रालयका अनुसार अहिले निको हुने दर ९४.७ प्रतिशत पुगेको छ । हिजो दुई हजार ७२ जना निको भएका थिए । भदौ १५ गतेदेखि निको हुने दर लगातार बढेको हो । यस्तै निको हुने दरमा भदौ २१ गते ९४.६ प्रतिशत, भदौ २० गते र भदौ १९ गते ९४.५ प्रतिशत, भदौ १८ गते ९४.३ प्रतिशत भदौ १७ गते ९४.२ प्रतिशत, भदौ १६ गते ९४.१ प्रतिशत, भदौ १५ गते ९३.९ प्रतिशत रहेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७