नक्कली प्रज्ञापनपत्र घोषणा बनाएर राजस्व छली, कारबाहीबाट जोगिन दौडधुप


२४ भाद्र २०७८, बिहीबार
Top Bahadur Bhusal

काठमाडौं, २५ भदौ : एक साता अघि नेपालगञ्ज भन्सार कार्यालयबाट ‘युपी ४० टि ४२५९’ नम्बरको मालबाहक ट्रक जाँचपास भयो । कर्मचारीहरुले तयार पारेको प्रज्ञापनपत्र घोषणामा उल्लेख विवरण र मालबाहक ट्रकमा रहेको मालवस्तुको विवरणमा धेरै फरक रहेको सूचना राजस्व अनुसन्धान कार्यालय कोहलपुर र नेपालगञ्ज भन्सार कार्यालयमा पुग्यो ।

मालवस्तुको विवरणमा फरक अर्थात् भन्सार कर्मचारी, भारतीय व्यापारी र ऐजेन्टको मेलेमतोमा राजस्व चुहावट गरिएको सूचना प्राप्त हुन साथ राजस्व अनुसन्धान कार्यालय कोहलपुरको टोलीले ‘युपी ४० टि ४२५९’ नम्बरको गाडीलाई नियन्त्रणमा लियो । गाडीलाई नियन्त्रणमा लिएर विभागले राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा राखेको छ ।

यो मालबाहक ट्रकको जाँचपासको लागि प्रज्ञापनपत्र घोषणा तयार पार्ने राजस्व अधिकृत हुन् तोपबहादुर भुसाल र जाँचकी रेवती गिरी । उनै अधिकृत भुसाल र जाँचकी गिरीको संग्लनतामा भारतीय व्यापारीको यो गाडी पास भएको थियो । नक्कली प्रज्ञापनपत्र घोषणा बनाएर अधिकृत भुसाल र जाँचकी गिरीले राजस्व चुवाहट गरेको सूचना र उजुरी पटक पटक गरिएपछि यो गाडीलाई नियन्त्रणमा लिइएको थियो ।

Bushal
राजस्व अधिकृत टोपबहादुर भुसाल

नेपालगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत जय बहादुर भण्डारीले युपी ४० टि ४२५९’ नम्बरको गाडी राजस्व अनुसन्धान कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको पुष्टी गरे । प्रमुख भण्डारीले नयाँ पेजसँग भने, ‘राजस्व चुवाहटको आशंकामा युपी ४० टि ४२५९ नम्बरको मालबाहक ट्रक राजस्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको सत्य हो । कर्मचारीहरुको कमजोरी देखिए कारबाही हुन्छ । राजस्व चुवाहट नियन्त्रणमा राजस्व अनुसन्धान कार्यालयसँग समन्वय भएको छ ।’

राजस्व चुवाहटलाई नियन्त्रण गरेर लक्ष्य अनुसारको राजस्व संकलनमा आफूहरु प्रतिबद्ध रहेको प्रमुख भण्डारीको भनाई छ । आफू मातहतका कर्मचारी सुशासनप्रति प्रतिबद्ध रहेर छरितो र पारदर्शी तरिकाले सेवा प्रवाहको निम्ती आफूले निर्देशित गरीरहेको तर नियतबस कमजोरी गरे कारबाही हुने प्रमुख भण्डारी बताउँछन् ।

राजस्व अनुसन्धान कार्यालय कोहलपुरका सूचना अधिकारी छत्रबहादुर अधिकारीले यो घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । उनले भने, ‘हो, राजस्व चुवाहटको सूचनाको आधारमा युपी ४० टि ४२५९ नम्बरको मालबाहक ट्रक विभागको नियन्त्रणमा लिएका छौं । अनुसन्धान भइरहेको छ ।’


नयाँ होइन घटना
नेपालको राजस्व आयातमा बढी आधारित छ । भन्सारमा संकलन हुने राजस्वको उच्च जोखिमयुक्त क्षेत्र हो । देशको अर्थतन्त्रको एउटा महत्वपूर्ण कडी भन्सारमा राजस्व यसरी चुवाहट हुँदा देशको अर्थतन्त्रमा नै असर परिरहेको विज्ञहरुको भनाई छ । खासगरी भन्सारमा कर्मचारी, ऐजेन्ट र व्यापारीको सेटिङ्गमा यसरी चुवाहट भइरहेको बताइन्छ ।

नेपालगञ्ज भन्सारमा कार्यरत भुसाल र जाँचकी गिरी करोडौं राजस्व चुवाहटमा संग्लन भएको अधिकारीहरुको दाबी छ । जाँचकी गिरीले भने आफूहरुले कुनै अनियमितता नगरेको दाबी गरे । उनले भने, ‘हामीले प्रज्ञापनपत्र घोषणा तयार पारेको गाडीलाई नियन्त्रणमा लिएको सत्य हो । हामीले कानुन अनुसार नै गरेका छौं । अनुसन्धानमा देखिएला नी ।’

rewati Giri
जाँचकी रेवती गिरी


अनुसन्धानमा पनि समस्या
अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको पाला अर्थात् २०७४ साल फागुन ११ गतेको निर्णयबाट राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राखिएको छ ।

राजस्व चुहावटको कसूरमा छानबिन गरेर कानुनअनुसार सरकारी वकिलको राय लिएर सम्बन्धित जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने अधिकार विभागलाई दिइएको छ । आर्थिक ऐन, २०७५ मा संशोधन समेत गरिएको छ । सांगठनिक संरचना समेत तयार पारिएको छ ।

इटहरी, पथलैया, वुटबल र कोहलपुरमा कार्यालय खुलेका छन् । तर ऐजेन्ट, व्यापारी र कर्मचारीहरुले यी कार्यालयमा समेत सञ्जाल तयार पारेर प्रभावित गरेको भन्दै आलोचना हुने गरेको छ । अहिले अधिकृत भुसाल र जाँचकी गिरी पनि अनुसन्धान प्रभावित पार्नका लागि दौडधुपमा रहेको अधिकारीहरुको दाबी छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रालयको बागडोरको जिम्मा पार्टीभित्रका अन्य आकांक्षीलाई पन्छाउँदै जनार्दन शर्मालाई दिए। कोभिड–१९ को कारण मुलुको अर्थतन्त्र धरायसी बनिरहेको बेला भन्सारमा हुने यस प्रकारको छली अर्थमन्त्री शर्माको पहिलो चुनौती भएको अर्थविद्हरुको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७