मैले हिँडेका पाइलाहरू


२३ फाल्गुन २०७४, बुधबार
Indra Bahadur Rai

मैले त्यसबेला पढेको एउटा पुस्तक थियो, अंग्रेजीका ठूला लेखक म्याथु आर्नोल्डको एसेज इन क्रिटिसिजम । त्यो पुस्तक सन् १८६५ मा प्रकाशित भएको थियो । पुस्तकमा आर्नेल्डले जर्मन कवि गेटेसम्बन्धमा लेखेका छन्, ‘उनका कविता नेसेसरी सब्जेटयुक्त छन् ।’ कविहरुको हुनैपर्ने सब्जेट म्याटर हो– लाइफ एन्ड द वल्र्ड । जीवन र जगत भन्नुपर्ने शब्द अंग्रेजीमा त्यहाँ पाएँ । अनि त्यसैलाई भूमिकामा लेखेँ । जीवन र जगतलाई लेख्ने कोसिस त्यो उपन्यास र पछिका कथासंग्रहमा पनि भयो ।

हामी कलेज भर्ना हुँदा पहिल्यै जान्न पाउँछौं– ज्ञानको शाखा साइन्स, आर्ट्स, कमर्स कतापट्टि जाने हो । तर साहित्यमा अगाडिबाटै जान्ने त्यस्तो कुनै बाटो छैन । कुन बाटो लागेर कहाँ पुग्छु रु कुन बाटोको शक्ति कति छ रु लेखनविधिको सीमा कहाँ छ रु थाहा हुँदैन । जुन पुस्तक हातमा आइपुग्यो, त्यही पढ्छौँ, त्यसैले प्रभावित हुन्छौं । त्यसैको प्रभावमा लेख्नुपर्छ । यो एउटा दुर्भाग्य नै भनौं, हामीलाई छ । पछिपछि भने पढ्दै जाँदा हाम्रा आँखा खुल्छन्, कताकता चेतना आउन थाल्छ । तर समय धेरै बितिसकेको हुन्छ । मैले पनि म्याथु आर्नोल्ड भेट्टाएँ । त्यसपछि जीवन र जगतलाई लेख्नुपर्छ भन्नेमा पुगेँ ।

Indra Bahadur Rai

धेरै पुस्तक पढिन्थ्यो त्यतिबेला । प्रेमचन्द्र, रवीन्द्रनाथ ठाकुर उता फ्रेन्च आन्द्रेजेडहरु । धेरै अंग्रेजीका लेखक, नाटककारका पुस्तक पढिन्थ्यो । एउटा पुस्तक फेरि भेट्टाएँ, सजिलो पुस्तक समरसेट ममको कथासंग्रह । एउटा लाइब्रेरीमा तीन भोल्युम थिए । एक ठेलीमा एक सय कथा । दुई ठेली पढेँ अनि त्यसले प्रभावित भएँ । सररर कथा लेख्ने, बुझ्न पनि कठिन नहुने, पढ्दा आनन्द पनि लाग्ने । त्यसैको प्रभावमा विपना कतिपय लेखेँ । २० वटा कथाको संग्रह करिब २० दिनमै लेखेँ । विवेकमा त्यही आयो, त्यही लेखेँ ।

फेरि एकदिन एउटा पत्रिकामा समरसेटको अन्तर्वार्ता देखेँ । त्यसमा उनले एउटा आश्चर्य प्रकट गरेका थिए, ‘मैले त्यत्रो विघ्न पुस्तक, संग्रह लेखेँ । उपन्यास, कथासंग्रह, पुस्तक संख्या प्रशस्त छ । नोबेल पुरस्कार पनि पाएँ । तर किन समालोचकले मेराबारे चाहिँ थोरै किताब लेखेका छन् रु उता हेमिङवे, विलियम फकनर, डिएस लरेन्सबारे ठेलीका ठेली लेखिँदैछन् । मेरो विषयमा चाहिँ किन थोरै ।’

त्यसमा अन्तर्वार्ता लिने समालोचकको टिप्पणी पनि थियो, ‘उनको विषयमा के लेख्नु त १ सररर बुझिने छ । जति कथा छ त्यति छ, त्यसबाहेक केही छैन । गहिरिएर खोज्नु पनि छैन, पछितिर परेको केही खोज्नु पनि छैन । के प्रभाव पर्छ भन्ने पनि छैन, जति पढ्यो सकिइहाल्यो अनि के लेख्नु १’

अन्तर्वार्ता पढेपछि तर्सिएँ, हाम्रो पनि भाग्य त्यस्तै हुने रहेछ । अनि आत्तिएर पढ्न थालियो । बाटो खोजिरहेका थिउँ, सन् १९६३ को अगस्ट–सेप्टेम्बरको एक दिन दार्जिलिङमा गणेशबहादुर प्रसाईले तिलबिक्रम नेम्वाङ ९बैरागी काइँला० र ईश्वर वल्लभजीलाई लिएर आउनुभयो । हाम्रो साहित्यिक संगति स्थापना भएको दिन त्यही थियो । अनि त हामी नछुटिने भयौं, सधैसधै केके कुरा गथ्र्यांै केके । पाएका पुस्तक जति नै पढ्थ्र्यौं हामी ।

यस्तै बेलामा काइँलाले पढ्नु भएछ– टिएस इलियटको एउटा पुस्तक । इलियटको त्यसबेला ठूलो नाम थियो । एंग्लो अमेरिकन वल्र्डका जम्मै विद्वान, साहित्यिकहरु घुँडा टेकेर भनुँ इलियटसामु खडा थिए । ठूला नाम चलेका लेखकको किताब पढ्न हामीलाई पनि चासो लाग्थ्यो । इलियटले वेन जोन्सनमाथि लेखेको एउटा लेख काइँलाले पढ्नुभएछ । त्यसमा एउटा वाक्य रहेछ, ‘वेन जोनसनका नाटकमा जति पात्र छन्, तिनको चरित्र चित्रणमा तेस्रो आयाम छैन । अर्थात ती चरित्र पूर्ण चरित्र छैनन्, दुई आयाममात्र भएका चेप्टा छन् । सोलोडोलो र जीवन्त छैनन् ।’

काइँलाले यो सुनाएपछि एउटा विचार आयो– हामीले लेखेकोमा पनि पूरा तीन आयाम हुनुपर्छ, लमाइ, चौडाइ अनि मोटाइ । अहिले लमाइ र चौडाइ त हुन्छ, मोटाइ हुँदैन । अर्थात गहनता हुँदैन । खोतल्नुपर्ने कुरा हुँदैन । कुनै दार्शनिक प्रश्न औँल्याउँदैन, वैज्ञानिक–मनोवैज्ञानिक तथ्यतर्फ पनि संकेत गर्दैन, भने त्यो थर्ड डाइमेन्सन नभएको हुन्छ । यो गर्न बौद्धिकता चाहिन्छ । हामी तीन जना त्यसबेला साह्रै परिपक्व थिएनौं । सबैभन्दा जेठो मेरो उमेर पनि ३०–३५ थियो, ईश्वर वल्लभ माइलो अनि उमेरमा कान्छो काइँला ।

हामीले सोच्यौं । हाम्रो सोच कति पुग्यो, कति पुगेन भन्न सक्दैनौँ । यस्तो साहित्य लेखौं, जसको मोटाइ होस्, गहनता अर्थात तेस्रो आयाम होस् । अझ समयको आयाम चौथो आयाम पनि होस् । चारै आयाम भएको लेख्नुपर्छ भनेर सन् १९६३ मा काइँलालाई सम्पादक राखेर तेस्रो आयाम भन्ने पत्रिका निकाल्यौं । पातलो थियो त्यो । त्यसमा काइँलाले सम्पादकीय लेखेका छन् । एउटा वाक्य थियो–व्यक्तिचरित्र, व्यक्तिको जीवन र उसको अनुभव जस्तो हुन्छ, त्यसलाई वर्तमान सामाजिकताले चेप्टाउँछ, दुई आयामको तुल्याउँछ । वर्तमानको बाँच्ने विधि नै यस्तो छ, हामीलाई चेप्टाउन खोज्छ ।

यो कुरा उहाँले त १९६३ मै देख्नुभएको छ । एक वर्षपछि अंग्रेजीमा एउटा पुस्तक छापियो, एकदम प्रसिद्ध पुस्तक भयो– अल्बर्ट मार्कुसको द वन डाइमेन्सनल म्यान । त्यो पुस्तक पढ्दा आज पनि हामी धेरै कुरा चाल पाउँछौं । त्यसमा त्यही कुरा भनिएको छ, जुन एक वर्षअघि नै काइँलाले भन्नुभएको थियो । मार्कुस पनि भन्छन्– वर्तमान समयमा मानिसलाई जसरी पनि दुई आयामिक बनाउन अर्थात चेप्टाउन खोज्छन् समाजको व्यवस्था नै त्यस्तो छ ।

हामी वास्तवमा तीन आयाम भएका र समयमा बाँचेकाले चार आयामका छौँ । संसारका जम्मै कुरा चरा, मुसादेखि लिएर चौकी, टेबल, घर, बाटो, समाज, पुरुष, स्त्री, बालक सबै चार आयामले युक्त छ तर लेख्दा, विचार गर्दा वा त्यसबारे बोल्दा के हुन्छ कुन्नि । हामी उनीहरुलाई दुई आयामको बनाएर मात्रै कुरा गर्न सक्छौं । यसो गर्दा सजिलो हुन्छ । यो केले हो रु त्यसतिर लाग्न वा खोज्न हामीलाई त्यसबेला आवश्यक लागेन । तर यो हुँदो रहेछ ।

जुनै मानिस पनि तीन आयामका हुन्छन् । उहाँ एउटा कार्यालयमा काम गर्नुहुन्छ, त्यो एउटा परिचय । तर घरको मूली पनि हुनुहुन्छ, त्यो अर्को उहाँको परिचय । कसैको दाजु, भाइ, कसैले देखेको सज्जन, कसैले देखेको दुर्जन । उनले कति काम गर्छन, विभिन्न पक्ष छ एउटै मानिसको । ती सबै पक्ष भेद भएका एउटै मानिस त चार आयामवाला नै हुन्छन् वास्तवमा । तर लेख्नप¥यो भने कुन्नि के हुन्छ । विचार गर्नप¥यो भने हाम्रो विचार गर्ने विधि कुन किसिमको हुन्छ कुन्नि १ कसोकसो दुई आयाम बनाएर विचार गर्न, लेख्न, बोल्न सजिलो लाग्छ । यसविरुद्ध अब कोसिस गर्नप(यो भनेर त्यसतिर लाग्यौँ ।

हामीले चाह्यौं– पूर्ण मानिसलाई लेख्नुपर्छ । सम्पूर्णता हाम्रो एउटा नारा नै भयो । सबै चिज सम्पूर्णतामा बाँचेको हुन्छ, झुठ्याएर दुई आयामिक बनाएर किन लेख्ने रु यो लेखाइ भएन । यसविरुद्ध जानुपर्छ भन्ने जमर्को हामीबाट भयो । पहिलो अंकमा काइँलाले एउटा कविता दिनुभयो– मध्यरातपछिको सडकसित मातेको मान्छेको भाषण । त्योपछि प्रसिद्ध पनि भयो ।
हामी कसोकसो आफूलाई दुई आयामिक नै सम्झँदा रहेछौं । एउटा पसल थापेर बस्ने मान्छे पनि त साँच्चैमा धेरै पक्ष भएका हुन्छन् नि १ तर हामी उनलाई पसले मात्र चिन्छौं । एउटै परिचयमा सीमित बनाउन खोज्छौं । मेरो पनि धेरै पक्ष छन्, तर मलाई तिमीचाहिँ एउटा मात्र शिक्षक हौ भनेर एउटा परिचयमा मात्र सीमित बनाउन खोज्छ समाजले । एउटा मजदुर छ भने उसको पनि त धेरै पक्ष हुन्छ । उसलाई धर्म मनपर्छ, पूजाआजा गर्न, पैसा कमाउन मनपर्छ । बाबु हो । असल बाबु हुन मन लाग्छ, असल पति हुन मन लाग्छ । तर हामी भन्छौं– तिम्रो आधारभूत परिचयचाहिँ मजदुर मात्र हो । मजदुर मात्र मानेर त्यसैअनुसार काम गर, आन्दोलन गर । यसरी हामीलाई बलजफ्ती पनि समाजले एउटै परिचयमा सीमित गराउन खोज्छ– दुई आयाममा ।

त्यही भएर हामीले सम्पूर्ण मानिस लेख्ने विचार ग¥यौं । अब सम्पूर्ण मानिस कहिले पाउने रु दिउसो चेतन अवस्थामा काम गर्दा त हामी आफैले पनि आफूलाई ‘शिक्षक हुँ’ भनेर एउटा परिचयमा घटाउँछौं । तर काइँलाले बरु मातेको मान्छे, चेतना अलि कम भएको र अचेतना बढेको, चेतना मुक्त भएको बेला सायद ऊ बढी पूर्ण हुन्छ कि भनेर त्यो कविता लेख्नुभयो । मातेको मान्छे अरु मानिसभन्दा धेरै नै पूर्ण हुन्छ । उसलाई डर हुन्न । काइँला भन्नुहुन्छ– मातेको मान्छेले ढाँट्दैन । हामी त बोल्दा कति कुरा आफैले दबाउँछौ, लुकाउँछौ तर मातेको मान्छेले यसो गर्दैन । त्यो लुकाउने मान्छे पूर्ण हो कि मातेको मान्छे रु पूर्ण मानिसको खोजीमा हामी अघि बढ्यौं ।

अनि मध्यरातपछिको सडक । मध्यरात भनेपछि एउटा दिन सकिएर सुरु हुने नयाँ दिन, नयाँ युगलाई आह्वान हो त्यो कविता । यसरी घटाएर एक परिचयमा बाँध्ने सामाजिक व्यवस्थाविरुद्ध हामीले लेख्ने कोसिस थाल्यौं । ईश्वर वल्लभले पनि त्यही अंकमा एउटा कथा लेख्नुभएको थियो– बन्द कुहिरोमा नानीको पाइला । त्यसमा एउटा सानो छोरा छ, बामे सर्दै गरेको । बल्लबल्ल उसको सिँढी उक्लन सिकेको छ । कथामा बाबुले भन्छ– छोरा तिमी मलाई जित । म त कसोकसो अपूर्ण मानिस भएँ, तिमी मजस्तो अपूर्ण मानिस नरहनु । तिमी पूर्ण, चार आयामको मानिस बन । यही पूर्णताको आह्वान लिएर हामीले लेख्न सुरु ग(यौं ।

यसको पछाडि कुनचाहिँ सिद्धान्त वा विचार थियो त रु बुझ्न अप्ठ्यारो पर्छ । पूर्णता के–के हो रु

मानिसको पूर्णता त हो नै । मानिसमा पनि धेरै कुरा हुन्छ । मानिस कुनै समयमा बाँचेको हुन्छ । समय पनि भाग–भागमा हामी जान्दछौं– भूतकाल, वर्तमानकाल र भविष्यत । हामी वर्तमान कालमा बाँचेका छौं तर समयको पनि त पूर्णता हुन्छ । त्यसको पूर्णता खोज्न हामीले पुस्तकहरु पल्टाउन थाल्यौं । दार्शनिकले के भन्छन् रु यसरी सबैलाई सोध्दै हिँड्यौं, पुस्तकहरुको माध्यमबाट । त्यहाँ पनि पायौं– समय त एउटै हुँदो रहेछ । टुक्रा–टुक्रा हुँदो रहेनछ, समय एउटै हुन्छ ।

आइज्याक न्युटनको पुस्तक पढ्यौं, त्यसमा पनि सिमेट्रिकल टाइम भन्ने छ । समय यसरी खण्डखण्ड बाँडिएको भन्नु भुल विचार हो । समय एउटै छ भन्ने त्यहाँ पायौं । तर हामीले तेस्रो आयामको मूल आधार लिएको आइन्सटाइनको सापेक्षता सिद्धान्तलाई हो । उनले स्पष्ट भनेका छन्– समय सबै एउटै छ खण्डखण्ड छैन । खण्डखण्ड सम्झनु भ्रम मात्रै हो ।

हामीले धार्मिक पुस्तक पनि हे¥यौं, समयलाई कसरी लिइएको रहेछ भनेर । त्यहाँ पनि त्यस्तै कुरा पायौं– त्रिकालज्ञ, सबै कुरा मान्ने शिव र अन्य देवहरु । तीनै काल देख्न सक्ने भनेपछि तीनै काल सँगै रहेछ र त देख्न सकिन्छ १ एउटा गइसकेपछि, नदेखिने भइसकेपछि ओझेल भएपछि त तीनै काल देखिने कुरै रहेन । तीनै काल सँगै हुन्छ, देख्नेले देख्छन्, धर्मले भन्दोरहेछ ।
धर्ममा पनि ज्ञानको कुरा हुन्छ, अन्धविश्वास मात्र हुँदैन । लौकिक विचारमा कतै यो अन्धविश्वास हुन्छ होला तर धार्मिक ज्ञानभित्र त तर्कैतर्कै छ । अलिकति पनि कुतार्किक कुरा गर्न दिँदैन धर्मले । तर्कसहित विश्लेषण गरिएको धर्मबाट ज्ञानका धेरै कुरा पाइने रहेछ । यसरी अब हामीले देख्नुपर्छ हामीले एउटै समय रहेको । एउटै समयलाई लेख्नुपर्छ, अविभाजित समय, अविराम वर्तमान । जहिले पनि एउटै छ । अनि सम्पूर्णता समयको खोज्यौं । वैज्ञानिकहरुले पनि त्यही कुरा भनेका रहेछन् । हामी त वैज्ञानिक होइनौं, उनीहरुले गणितबाट सबै हिसाब निकालेर प्रमाणित गरिदिएका छन् समय एउटै हो भनेर । अनि हामीलाई लाग्यो समय एउटै छ ।

अर्को कुरा, हामी त जीवनलाई लेख्छौं भन्छौं । जीवन पनि एउटै छ कि विभाजित रु समय भिन्दैभिन्दै आएजस्तो हाम्रो व्यावहारिक बुझाइमा जीवन पनि यसरी नै बाँडिएको छ कि एउटै छ रु अनि चेतना पनि एउटै छ कि भिन्नाभिन्नै रु

हामी त त्यतिधेरै चिन्तन गर्ने मानिस थिएनौं । हामीभन्दा अघि भाग्यले धेरै विचार गर्नेहरु गइसकेका छन् । उनीहरुले लेखेर छाडेका कुरा हामी पढ्न पाउँछौं । उनीहरुले भनेका छन्– चेतना पनि एउटै छ । जसरी घाम बाटोमा लाग्छ, त्यही घाम घरको छत र कुनै खोलामाथि पनि लागेको हुन्छ, त्यो भिन्नाभिन्नै घाम होइन । जसरी वायुमण्डल एउटै छ, मैले फेर्ने सास र अरुले फेर्ने सास भिन्नाभिन्नै होइन । एउटै वायुबाट सास फेर्छौं । जसरी घाम एउटै छ, वायुमण्डल एउटै छ, चेतना पनि एउटै छ ।

आजकल जम्मै दार्शनिक वैज्ञानिकले पनि यही कुरा भन्दैछन् । हामीलाई कसरी सबै कुरा चार आयाममा हेर्न नलगाएर दुई आयाममा हेर्ने बनाउँछ, यही भ्रमले लगाउँदो रहेछ । त्यसैगरी जीवन पनि एउटै छ कि अंशअंशमा बाँडिएको हुन्छ । उहाँको जीवन, मेरो जीवन र काइँलाको जीवन अलगअलग हो कि भित्रबाट एउटै छ रु हामी सोच्थ्यौं, कुरा गथ्र्यौं । हजार वर्षअगाडि कसैमाथि अत्याचार भएको थियो रे, सीतामाथि अथवा लुसिपसका छोरीहरुमाथि । त्यो अत्याचार र आज कसैमाथि भएको अत्याचार एउटै हो कि भिन्नाभिन्नै खालको हो रु गुणात्मक किसिमले भिन्नाभिन्नै हो कि भित्रबाटै एउटै हो रु देख्छौं, जीवन एउटै छ । उसलाई पनि मन दुखेकै हो, अहिलेकोलाई पनि मन दुख्छ । अहिलेकोलाई पनि पीर लाग्छ, उतिबेला पनि पीर लाग्थ्यो । समय मात्रै भिन्न हो जीवन त एउटै छ । यसरी जीवन एउटै छ अघिदेखि आजसम्म पनि समय एउटै छ, चेतना सधै एउटै छ । यो कुरामा यो निष्कर्षमा हामी पुग्यौं ।

निष्कर्षमा त पुगियो तर लेख्ने कसरी रु बुझ्नु र लेख्नुमा धेरै ठूलो खाडल छ, त्यो पार गर्नुपर्छ । आएको कुरा लेख्न सकिएन भने त्यसको अर्थ हुँदैन । लेख्न पहिले आफ्नो शैली र परिधि तयार गर्नुप(यो, उपयुक्त प्रविधि खोज्नुप(यो । कस्तो प्रकारले लेख्यो भने यी कुरा आउँछन् । धेरै टाउको दुखाउनुप(यो– सम्पूर्णता देखाउने कुन–कुन थोकले चाहिँ हामीलाई सहायता गर्ला रु चित्रकला हे¥यौं, संगीतका पुस्तक हे(यौं, मनोविज्ञान, समाजशास्त्र सबै किसिमका किताब हे¥यौं । कहाँबाट अलिकति सहायता पाउँछौं भनेर ।

त्यसबेला काइँला अनि बल्लभले एउटा उपाय ल्याउनु भयो– मिथकबाट लेख्नुपर्ने रहेछ । मिथकले उहिलेको कुरा पनि भन्छ, जुन सधैका लागि हुन्छ । सधैको समय लेख्न मिथकले सहायता गर्छ । मिथक रहेछ, समात्नुपर्ने एउटा प्रविधि । तर त्यसलाई कसरी लेख्ने रु कतै संगीतकार, चित्रकारले पो यो कोसिस गरेका छन् कि रु पश्चिमा र पूर्वीय संगीतका पुस्तक पनि हे¥यौं । त्यसबेला हामीले चित्रकलाबाट एउटा ठाउँमा सहायता पायौं, सम्पूर्णता दिन । त्यसबेला चित्रकलामा चलेको थियो– घनवाद, जसले सम्पूर्णता दिन खोज्ने रहेछ । एउटै टेबुलको पेन्टिङ गर्न खोज्यो भने माथिबाट हेर्दा एउटा रुप हो, तलबाट हे¥यो अर्को, दाहिनेबाट अर्को । बिहान एउटा रुप हो, दिउसो अर्कै । यी सबै रुप जोडेर सम्पूर्णता हुन्छ । अब यी सबै रुपलाई गाँसेर घनवादले लेख्छ ।

त्यसपछि हामीले घनवाद ल्यायौं । काइँलाको कविताभरि घनवादको टेक्निक छ । बल्लभका कविताभरि, मैले कथाभरि त्यही लगाएँ सम्पूर्णता दिन । कोसिससम्म गरेका हौं, कति आयो सम्पूर्णता हामी ग्यारेन्टी गर्न सक्दैनौं । बाटो त्यति नै भेट्यौं । सबैको आ–आफ्नो सीमा हुन्छ ।

लेख्दा हाम्रा मनमा भाव, भावना आउँछन् । रीस उठ्छ, कुनै कुरा राम्रो लाग्छ, कसैलाई देखेर खुसी लाग्छ । जीवन भनेको अनुभव र अनुभूति त हो नि । कसैलाई भेट्दा खुसी लाग्छ, आनन्द लाग्छ । अब यो आनन्दहरुलाई पनि लेख्नुपर्छ, खुसीहरु, क्रोधहरुलाई पनि लेख्नुपर्छ भन्नेमा पुग्यौं ।

लेख्ने कसरी रु यी क्रोध, आनन्द हर्ष, मनमा जसरी आउँछ, त्यसरी नै लेख्नुपर्छ । अहिलेसम्म हाम्रो साहित्यमा मनमा लागेको हर्ष, कुनै केही वस्तु समात्दा चिसो स्पर्श भयो, त्यो चिसोलाई कसरी लेख्ने रु कुनै तरलपदार्थ छुँदा तातो लाग्छ, त्यसलाई कसरी लेख्ने रु लेख्न त यी अनुभूति नै लेख्नुपर्छ, साहित्यमा । योबाहेक अरु चिज छैनन् । चिसो जुन लाग्दछ, एकैचोटि लाग्दछ, विस्तार–विस्तार शब्दहरु वाक्यहरुको लाइनजस्तो, एउटा शब्दपछाडि अर्को शब्द गर्दै सय–डेढ सय शब्द, एक वाक्यपछि अर्को वाक्य हुँदै लम्बिएर त स्पर्शको अनुभूति हुँदैन । एकैचोटि हर्ष हुन्छ, क्रोध हुन्छ । एकैचोटि हुने अनुभव एकैचोटि लेख्नुपर्छ । त्यसरी लेख्दा हाम्रो अनुभूतिको सबै आयाम एकैचोटि आउँछ । तर त्यसलाई विवरणजस्तो बनाएर लम्बेतान लेख्यौं भने एकैचाटिमा हुने स्पर्शको अनुभूति झुठो हुन्छ । जसरी अनुभव भयो, त्यसरी नै लेख्नुपर्छ । पढ्दा एकपृष्ठ लामो भयो भने हामीलाई स्पर्शको अनुभूति त एकपृष्ठ लामो भएको छैन, झट्टै पो आएको छ त ।

अब झट्टै कसले दिन्छ रु खोजी हिँड्यौं । हामीले भेट्यौं– चित्रकलाले दिँदोरहेछ । चित्र हेर्दा शब्दपछि शब्द वाक्यपछि वाक्य त्यहाँ छैन । झट्टै देखिन्छ एकैचोटि । चित्रकलाबाट सिक्नुपर्ने रहेछ । यसरी हामीले उपायहरु यता खोज्यौं, उता खोज्यौं । जति बुझ्न सक्यौं, त्यसैलाई लिएर तेस्रो आयाम सुरु ग¥यौं । त्यसैअन्तर्गत लेख्यौं ।

हामीले पछि विचार ग(यौं– अब बुद्धिलाई पछयाएर जानुपर्छ । हाम्रो लेखनमा बौद्धिकताको तेस्रो आयाम पनि हुनुपर्छ । तर बौद्धिकता हाम्रो निम्ति काइँलाको शब्दमा उत्तरको धु्रवतारा थियो, जसलाई हेरेर, पछयाएर हामी समुद्रमा पनि आँखा टेक्दथ्यौं । बुद्धि नै हाम्रो देवता । तर बुद्धिलाई पछयाउँदै जाँदा पछिपछि कताकता शंका लाग्न थाल्यो– यो बुद्धि पनि साह्रै भरपर्दो लट्ठी होइन कि १

लाग्यो, मानिसलाई चिन्नुपर्नेछ । साहित्यमा मानिसको जीवनलाई लेख्नुपर्छ, मानिस नचिनी साहित्य लेखिँदैन । अनि मानिस कस्तो छ त वास्तवमा रु पुस्तकहरु हेर्छौं के पायौं भने मानिसलाई चिन्न उसको प्रकृति चिन्नुपर्छ, स्वभाव चिन्नुपर्छ । मानिसको चरित्र यस्तो छ भन्ने जानियो भयो, उसका आवश्यकता यस्तो छ भनेर भन्न र लेख्न सक्छौं ।

मानिसको प्रकृति स्वभाव कस्तो छ रु कत्ति पुस्तक पल्टायौं, एक मत छैन । अहिलेसम्म पनि मनोवैज्ञानिकहरुबीच मानिसको प्रकृतिबारे सहमति छैन । मानिसको प्रकृति कस्तो छ भन्ने मै सहमति छैन भने लेख्ने कसरी रु त्यसमा उनीहरु सहमतिमा नपुग्दा यो बुद्धि भन्ने करा पनि साह्रै विश्वास लाग्दो छैन कि भनेर विचार गर्न थाल्यौं । पछि हामीलाई पक्का भयो– यो बुद्धि साह्रै नै विश्वसनीय छैन । अनि काइँलाले आफ्नो एउटा कवितामा एक पंक्तिमा लेख्नुभयो– बुद्धिले सूर्य बालेर राँकोले हेर्छ, देख्दैन । बुद्धिमा अविश्वास भयो, जुन बुद्धिलाई पछयाएर हामीले तेस्रो आयाम सुरु ग(यौँ । पछि त यो बुद्धिमाथि नै अविश्वास जन्म्यो । यो अन्योलको अवस्थामा छँदै थियौं, हामी तीन जना छरपस्ट भयौं । उहाँहरु यता नेपाल आउनुभयो, म उता बसेँ ।

तेस्रो आयाम कालमा हामीले सापेक्षताको आधार लिएर लेख्यौं । त्यसका पनि अनेक पक्ष छन्, धेरै पक्षलाई समात्दै लेख्दै थियौं । मूल पक्ष सापेक्षतालाई नै लेख्नचाहिँ हामीले समय नै पाएनछौं । कसोकसो त्यसलाई काइँलाले समात्नुभयो । बुद्धि त्यस्तो भएको बेला सत्य भन्ने त सापेक्ष मात्र हुनेरहेछ, एकापट्टिबाट हेर्दा एउटा देखिन्छ, अर्कोपट्टिबाट अर्कै । भेटिँदैन, के हो यो १ यस्तो बेला उहाँको कवितामा थियो– अन्धाले बे्रल छामेजस्तो, हात्ती छामेजस्तो मात्रै हो जीवन बुझ्नु । उनीहरु त अन्धा थिए आँखाका । हामी त आँखा देख्ने अन्धाहरु हौं पढेका, आआफ्नो बुद्धिले अन्धो ।

सापेक्षताभित्र सबै कुरा सापेक्ष हुँदैन । यसो भएर त त्यसलाई सापेक्षतावाद भनिन्छ, जुन शुन्यवादजस्तो हुन्छ । तर यसभित्र त एउटा वास्तविक संसार हुन्छ, जसलाई आधार बनाई अरुलाई सापेक्ष देख्न सकिन्छ । आइन्स्टाइन घरिघरि होसियार गराउँछन्– सबै कुरा सापेक्ष हुँदैन, त्यहाँभित्र एउटा कुरा स्थिर हुन्छ, जसलाई केन्द्र मानेर अरुलाई सापेक्ष ठानिन्छ । अब त्यो केन्द्र हामीले खोज्नुप(यो ।

एउटा डाँडालाई पूर्वबाट हेर्दा साँच्चै बिरालोजस्तो देखिन्छ, पश्चिमबाट घरजस्तो र उत्तरतिरबाट हेर्दा अर्कै थोकजस्तो देखिएला । सब सापेक्षता । चार किसिमको देखिए पनि डाँडा त छ नि १ र त त्यो किसिम–किसिमको देखिन्छ । डाँडै नभए त कुनै पनि किसिमको देखिन्न, त्यसैले स्थिर बिन्दु खोज्नुपर्छ । त्यो बिन्दु के हो त सापेक्षताभित्र रु हामीले पायौं– त्यो वस्तुता हो ।
वस्तुता भनेको के हो रु दर्शनशास्त्रमा एउटा क्रिटिकल रियालिज्म भन्ने सिद्धान्त छ । जति कुरा हामी देख्छौं, देखेर जान्दछौं, चिन्दछौं । हामीले देखेर मात्र तिनीहरु भएका हुन् त रु हामीले न देख्दा तिनीहरु हुँदैनन् रु क्रिटिकल रियालिज्मले भन्छ– हामीले न देख्दा पनि तिनीहरु हुन्छन् । हामीमाथि भर परेर उनीहरुको अस्तित्व भएको होइन, उनीहरु आफै अस्तित्वशील छन् । मानिसले देख्नुभन्दा अलग्गै, छुट्टै मुक्त नै उनीहरुको अस्तित्व छ ।

हामीले देखेको जति सापेक्ष दृष्टि छन्, तिनीहरुभित्र पनि वस्तुता हुन्छ । त्यो सधै नै हुन्छ । वस्तु हुन्छ तर त्यसलाई हामीले आआफ्नो दृष्टिले देख्छौं । हाम्रो दृष्टि सापेक्ष मात्र हुन् । ती दृष्टि वस्तुमाथि साँच्चै छ भनेर भन्न सकिँदैन, हामीले ओढाइदिएको अर्थ मात्र हो । त्यो त हाम्रो मूल्यांकन, अर्थाङ्कनदेखि छुट्टै छ, त्यसलाई हाम्रो दृष्टिले छुँदैन । यसरी रहेका हुन्छन्, सबै वस्तु संसारमा । हामीले व्यर्थमा आआफ्नो आत्मपरकताबाट त्यसमा नयाँ अर्थ, मूल्यांकन, नयाँ दृष्टि, माया वा घृणा लगाइदिन्छौं । तर तिनीहरुलाई यी सबैको केही सरोकार छैन । यसरी रहेको हुन्छ, प्रत्येक चिज ।

बौद्धिकतामाथि अविश्वास लाग्दैथियो । त्यसबेला काइँलाले लेख्नुभयो– आआफ्नो हेराइ मात्र हो, अन्धाले ब्रेल पढेजस्तो हात्ती छामेजस्तो मात्रै छ भनेर । यहाँसम्म आइपुगेपछि हामी आयामेली लेखनको समाप्तिजस्तोमा पुग्यौं । बुद्धिलाई अविश्वास गर्ने, के हो रु कसो हो रु जान्न सक्दैनौं कि भन्ने जस्तो अवस्थामा पुग्यौं, यही अवस्था हो– लीला लेखनको सुरु ।

अघि त म्याथु आर्नेल्डलाई पछयाएर जीवन र जगतलाई लेख्छौं, लेख्नुपर्छ भन्थ्यौं । अब त जीवन र जगतलाई बुझ्नै कठिन रहेछ, सायद बुझ्नै सक्दैनौं भन्नेमा हामी पुग्यौं । जीवन र जगतलाई लेख्छौं भन्नुभन्दा यसलाई बुझ्न जति कठिनता छन्, ती कठिनताहरुलाई लेख्छौं भन्नु पर्छ कि भन्ने अवस्थामा पुग्दा हामी लीलालेखनको छेउमा आइपुग्छौं ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७