साढे ४ महिनापछि पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि खुला


२५ भाद्र २०७८, शुक्रबार
pashupati title
फाइल फोटो

काठमाडौं, २५ भदौं । गएको वैशाखदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज (शुक्रबार) बिहानबाट खुला गरिएको छ । आज बिहान क्षमा पूजा गरेपछि पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गएको बैशाख १० गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। बिहीबार तीजको अवसरमा पनि मन्दिर खुला गरिएको थिएन । अब हरेक दिन दिउँसो एक बजेसम्ममात्र मन्दिर सर्वसाधारणका लागि खुला गरिने कोषले जनाएको छ । अब पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने नियम लागू गरिएको कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए ।

पूजाआजाका लागि एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने उनले बताए । ‘संक्रमणको जोखिम कम गर्न एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था मिलाएका छौं’, खतिवडाले भने ।

मन्दिर खुला गरे पनि विशेष पूजा भने अझै खुला गरिएको छैन । २०७६ चैत महिनामा नेपालमा पहिलोपटक कोरोना महामारी सुरु हुँदा पनि पशुपतिनाथ मन्दिर नौ महिनासम्म बन्द गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७