एमसीसी उपाध्यक्षकाे टोली र अर्थमन्त्री शर्माबीच भेटवार्ता हुँदै


२६ भाद्र २०७८, शनिबार
jf

काठमाडौं, २६ भदौं । नेपालको चार दिने भ्रमणमा रहेको अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले आज (शनिबार) अर्थमन्त्री जनार्दन शर्मासँग भेटघाट गर्ने भएको छ ।

टोलीले हिजो प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उर्जामन्त्री पम्फा भुसालसँग छुट्टाछुट्टै भेट गरेको थियो । नेपालको संसदबाट सम्झौता अनुमोदन गराउन सक्रिय कसरतमा जुटेको टोलीले अस्ति बिहीवार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग पनि छलफल गरेको थियो ।

सबै नेताहरुसँगको छलफलमा सुमारले एमसीसी कुनै सैन्य रणनीति नभएकाले यसबारेको विवादलाई थप नलम्ब्याउन आग्रह गरेकी छिन् । तर सत्तारुढ गठबन्धनले नै एमसीसी सम्झौताबारे स्पष्ट धारणा दिन सकेको छैन ।

हिजोको भेटमा प्रधानमन्त्री देउवाले सम्झौता अनुमोदनको लागि राजनीतिकस्तरमा छलफल भइरहेको जानकारी दिएका छन् भने प्रचण्डले राष्ट्रिय सहमतिबाट मात्र एमसीसी अनुमोदन हुन सक्ने बताएका छन् । प्रधानमन्त्री देउवा जसरी पनि संसदबाट एमसीसी पारित गर्ने तयारीमा छन् भने सत्तारूढ गठबन्धनकै माओवादी र एकीकृत समाजवादी भने एमसीसी हुबहु पारित नगर्ने पक्षमा छन् ।

एमालेले सरकारको धारणा आएपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ । सत्तारुढ दलहरु नै एकमत हुन नसकेका कारण एमसीसी कार्यान्वयन गर्ने विषयमा प्रधानमन्त्री देउवा अप्ठ्यारोमा परेका छन् । २०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को सम्झौता अहिले पनि प्रतिनिधि सभामा विचाराधीन छ । एमसीसी पास गर्ने / नगर्नेबारे दलहरू विभाजित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७