मन्त्रालय भागबण्डामा सहमति जुट्न सकेन


२७ भाद्र २०७८, आईतवार
satta

काठमाडौं, २७ भदौं । सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँटको भागबण्डा अझै मिलेको छैन । भागबन्डा टुंग्याउन गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै आए पनि निष्कर्षमा भने पुग्न सकेको छैन ।

मन्त्रालय भागबण्डामा सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद् विस्तार अझै एक-दुई दिन लम्बिने भएको छ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मन्त्रालय भागबण्डाबारे कुरा नमिलेको बताए । ‘कुरा मिलेकै छैन । अझै एक–दुई दिन मन्त्रिमण्डल विस्तार हुने अवस्था छैन,’ उनले भने ।

स्रोतका अनुसार भागबण्डाबारे जसपा अध्यक्ष यादव असन्तुष्ट छन् । भागबण्डाको विषयमा शुक्रबार बोलाइएको गठबन्ध बैठकमा नेपाल कम्युनिस्ट पार्टी (एस) का अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच चर्काचर्की नै भएको स्रोतको भनाइ छ ।

भौतिक पूर्वाधार, परराष्ट्र, सहरी विकास, संघीय मामिला, स्वास्थ्यजस्ता महत्वपूर्ण मन्त्रालयमा दुवै पार्टीले दाबी गरेपछि सहमति जुट्न नसकेको हो । स्रोतले भन्यो, ‘मन्त्रालयको संख्यामा भने करिबकरिब टुंगो लागेको छ तर मन्त्रालयका नाममा भने सहमति जुट्न बाँकी छ ।’ जसपाले नेकपा (एस) सरह मन्त्रालयको संख्या पाउनुपर्ने दाबी गरेको छ ।

स्रोतका अनुसार जसपा अध्यक्ष यादवले उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रालय चाहेका छन् । परराष्ट्र नभए कुनै महत्वपूर्ण मन्त्रालय चाहेका छन् । जसपाले उपप्रधानमन्त्री पाए अध्यक्ष यादव पार्टीबाट नेतृत्व गर्दै सरकारमा जाने मुडमा छन्। तर उपप्रधानमन्त्री नपाए राजेन्द्र श्रेष्ठ या महेन्द्र यादवलाई पार्टीबाट नेतृत्व गर्दै सरकारमा पठाउने सोचमा उनी छन् । यादव यसअघि दुईपटक उपप्रधानमन्त्री भइसकेका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७