१६ र १९ वर्षीया किशोरीलाई बेच्न लैजाँदै गरेका दुई महिला पक्राउ


२७ भाद्र २०७८, आईतवार
pakrau
सांकेतिक तस्विर

सिरहा, २७ भदौं । मानव बेचविखनमा संलग्न भएको आरोपमा प्रहरीले सिरहाबाट दुई महिलालाई पक्राउ गरेको छ । दुई किशोरीलाई भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका–११ की २८ वर्षीया ललिता चौधरी र सिरहाको धनगढीमाई नगरपालिका–१ की ३५ वर्षीया उषादेवी मलाह पक्राउ परेका हुन् । उनीहरुले १६ र १९ वर्षीया दुई किशोरीलाई बेच्ने उद्देश्यले सिरहाको माडर हुँदै भारत लैजाँदै गरेको अवस्थामा चोहर्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार सप्तरीका ती किशोरीलाई लहानमा मासिक ५० हजारको जागिर लगाई दिने प्रलोभन दिएर उनीहरुले घरबाट ल्याएका थिए । लहान आइसकेपछि जनकपुरमा अझ धेरै कमाइ हुने भन्दै झुक्याएर भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

सिरहा जिल्ला अदालतबाट म्याद थप गरी दुबै महिलामाथि आवश्यक अनुसन्धान अगाडी बढाइने उनले बताए । उद्धार गरिएकी किशोरीलाई अभिभावकको जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७