बिहारसँग पारस्परिक मौसमी विद्युत आदान–प्रदानको प्रस्ताव


२७ भाद्र २०७८, आईतवार
Kulman Ghising

काठमाडौं, २७ भदौं । नेपाल विद्युत प्राधिकरणले वर्खामा नेपालमा खपत गरी बढी विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत आदान–प्रदानको प्रस्ताव गरेको छ ।

प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोशी र अन्य निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट वर्खामा उत्पादित विद्युत देशभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि बिहार स्टेट पावर होल्डिङ कम्पनी लि.सँग पारस्परिक मौसमी विद्युत आदान–प्रदानको प्रस्ताव गरेको हो । नेपाल र भारतबीच सन् १९७१ देखि विद्युत् आदान–प्रदान हुँदै आएको छ ।

बर्खाका ६ महिना नेपालबाट विद्युत बिहार पठाउने र हिउँदका ६ महिना उताबाट ल्याउने गरी पारस्परिक विद्युत आदान–प्रदानको प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘वर्खाका महिनामा २४ सै घण्टा २ सय मेगावाट एवं राति ११ बजेबाट बिहान ६ बजेसम्म थप विद्युत् दिन सकिने र हिउँदमा उताबाट ल्याउने प्रस्ताव गरिएको छ, वर्खामा यताबाट पठाएको र हिउँदमा उताबाट ल्याएको परिमाणबीच फरक परेमा उपयुक्त विधिमार्फत विद्युतको मूल्य तय गरिने छ’, घिसिङले भने ।

घिसिङकाअनुसार यस वर्षको बाँकी ३ महिनामा नेपालमा खपत गरेर बढी हुने करिव ७० करोड युनिट र अर्को वर्ष ३ अर्ब ७९ करोड युनिट ऊर्जा बिहारलाई दिन सकिने छ । हिउँद याममा त्यति नै बराबरको विद्युत आयात गर्न सकिन्छ । यसले गर्दा वर्खामा खेर जाने विद्युतको उच्चतम् प्रयोग हुने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७