विदेशी पर्यटक धमाधम बुकिङ रद्द गर्दै, संकटमा होटल व्यवसाय


२८ भाद्र २०७८, सोमबार
ghalegauun homestay 1

काठमाडौं, २८ भदौं । शरद ऋतु नेपालको पर्यटनका लागि अनुकूल मौसम । यो मौसममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य संख्यामा विदेशी पर्यटक नेपाल आउँछन् । कोभिड–१९ महामारीको जोखिम नभइदिएको भए यतिखेर विदेशी पर्यटकले नेपालका होटल भरिभराउ हुने थिए । पदमार्ग र अन्य धार्मिकस्थलमा विदेशी पर्यटक खचाखच हुन्थे ।

राजधानीको ठमेललगायत देशका प्रमुख पर्यटकीय गन्तव्यमा विदेशी नागरिकको भीडभाड हुन्थ्यो । तर कोभिडले सबैभन्दा बढी प्रभावित बनाएको मुलुकको पर्यटन क्षेत्रमा अहिले पनि खासै उत्साह छैन । पर्यटन पूर्वाधारमा लगानी बढाएका व्यसायी निरास छन् । पर्यटनसँग जोडिएका सबैजसो व्यापार व्यवसाय चौपट छ । झिनो संख्यामा भए पनि पर्यटक पाहुनाको पर्खाइमा छन् व्यवसायी ।

कोभिडको दोस्रो लहरपछि नेपालको पर्यटन क्षेत्रमा सकारात्मक गतिविधि बढ्ने अपेक्षा थियो । अझै पनि तेस्रो लहरको जोखिम कायमै रहेकाले पर्यटक र पर्यटकीय गतिविधि बढ्ने अवस्था छैन । यतिखेर पर्यटकले धमाधम बुकिङ रद्द गरिरहेका छन् । बुकिङ रद्द भएपछि व्यसायी थप निरास भएका छन्। पर्यटक बढ्नुपर्ने यो सिजनमा तारे होटलका बुकिङ धमाधम रद्द भइरहेको होटल सङ्घ नेपाल (हान) ले जनाएको छ । अहिले राजधानी काठमाडौंमा निषेधाज्ञा हटेको छ । सबै होटल खुलेका छन् तर होटलमा ग्राहक छैनन् । तत्कालै विदेशी पर्यटक नेपाल आउने अवस्था पनि छैन ।

हानका प्रथम उपाध्यक्ष विनायक शाहले पर्यटकीय याममा धमाधम बुकिङ रद्द हुनुले व्यसायीलाई थप निरास तुल्याएको बताए। ‘होटल त खुलेका छन् तर, पाहुना छैनन् । बुकिङ पनि रद्द भइरहेका छन् । यसले होटल क्षेत्रलाई झनै निरास बनाएको छ । खर्बौंको लगानी जोखिममा छ,’ उनले भने ।

सेप्टेम्बरको मध्यतिर पनि विदेशी नागरिक तत्काल आउने अवस्था छैन । विमानस्थल होटलमा अल्पाइन ग्रुपका जर्मन नागरिक करिब ५० जनासम्म हरेक वर्ष वार्षिकोत्सव मनाउन नेपाल आउने गरेका थिए। यो पटक उनीहरु आउने अवस्था छैन । बुकिङ रद्द गर्दैछन् । सगरमाथा आधार शिविरसम्म यात्रा गर्ने ती विदेशीले यो वर्ष यात्रा रद्द गरेका हुन् ।

हानका अनुसार अहिले आधाभन्दा बढी बुकिङ रद्द भइसकेका छन् । नेपाल आउने विदेशीले वर्षदिनदेखि छ महिनाअघि बुकिङ गर्छन् । १५ दिनअघिसम्म बुकिङ रद्द गर्दा शुल्क लाग्दैन । नेपालमा वर्षायाम सकिएलगत्तै विदेशी आउन थाल्छन् । विशेष गरी अक्टोबर, नोभेम्बर र डिसेम्भर महिनामा विदेशी पर्यटक बढी आउँछन् । हानमा साना ठूला गरी करिब चार हजार होटल आवद्ध छन् ।

सामान्य अवस्थामा यो याममा करिब ८० प्रतिशत होटल बुकिङ हुन्थ्यो । अहिले १० प्रतिशतभन्दा कम बुकिङ भएको छ । सन् २०२० मा पनि करिब १० प्रतिशत मात्रै बुकिङ थियो । नेपाल आउने विदेशी पर्यटकले अहिले सात दिन क्वारेन्टिन बस्नुपर्छ । खोपको मात्रा पूरा गरेर आए पनि क्वारेन्टिन बस्नुपर्ने बाध्यता र अनअराइभल भिसाको सुनिश्चितता नहुँदासम्म पर्यटक नबढ्ने व्यवसायीको भनाइ छ ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले मुख्य पर्यटकीय याममा पनि बुकिङ रद्द भइरहनुले व्यवसायीलाई थप निरास तुल्याएको बताए । खोप लगाएर आउने पर्यटकलाई सहजै नेपालका गन्तव्यमा घुम्ने वातावरण सिर्जना गरिनुपर्नेमा उनको जोड छ । ‘अक्टोबरका लागि ग्रुप रद्द भइसके, व्यवसायीको ठूलो लगानी धराशायी अवस्थामा छ, खोप लगाएका पर्यटकलाई सहजरुपले आउन दिनुपर्छ,’ उनले भने, ‘यो सिजनमा पनि पर्यटक आउन नदिने हो भने व्यवसायी पलायन हुनुपर्ने अवस्था आउँछ ।’

अध्यक्ष गुरागाइँले खोप लगाएर आउने विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अनअराइभल प्रवेशाज्ञा (भिसा) को व्यवस्था गरी हालको क्वारेन्टिन बस्नुपर्ने बाध्यता हटाउन सरकारसँग आग्रह गरे । भारतीय पर्यटकलाई सहजरुपमा नेपाल आउने वातावरण बनाउन सम्बन्धित निकायले पहल गर्नुपर्नेमा उनको जोड छ । विश्वका १६० भन्दाबढी मुलुकका नागरिक विभिन्न प्रयोजनका निम्ति नेपाल आउने गरेका छन् ।

पर्यटन उद्योगको संरक्षण र प्रवद्र्धनका लागि राज्यले घोषणा गरेका कार्यक्रमको कार्यान्वयनको वातावरण नबन्दा असहज परिस्थिति आएको हानका उपाध्यक्ष शाहको गुनासो छ । उनले नीतिगत निर्णय गरेर अघि बढेको खण्डमा विदेशी पर्यटक भित्रिने वातावरण बन्ने बताए । त्यसका लागि सरकारले बजेट तथा आर्थिक नीतिमा उल्लेख गरेका कामको चाँडो कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

‘बजेटमा घोषणा भएको विदेशी पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा, अनअराइभल प्रवेशाज्ञा जस्ता विषयको तत्काल कार्यान्वयन गरी भारत र चीनको सीमाबाट सहजरुपमा पर्यटक आउने वातावरण बनेमा पर्यटन क्षेत्रलाई राहत पुग्छ,’ उनले भने । अहिले पनि युरोप, अमेरिका, अष्ट्रेलियालगायत विभिन्न देशले ट्राभल एड्भाइजरी जारी गरी नेपाल आउन प्रतिबन्ध लगाएका छन् । नेपाल सरकारले ट्राभल एड्भाइजरी हटाउन पहल गर्नुपर्ने, प्रतिस्थापन बजेटमार्फत १० दिनको काज बिदाको व्यवस्था तत्काल लागू गर्नुपर्ने व्यवसायीको माग छ ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ (नेपाल) टानका अध्यक्ष खुमबहादुर सुवेदीले सरकारले बजेट र आर्थिक नीतिमा घोषणा गरेका कार्यक्रम चाँडो कार्यान्वयन नगरे व्यवसायी पलायनको अवस्था आउनसक्ने बताए। पर्यटन पुनरुत्थान र प्रवद्र्धनका लागि साझा कार्यक्रम ल्याइनुपर्नेमा उनले जोड दिए । ‘खोप लगाएर आउने पर्यटकको सहजताका लागि अनआराइभल भिसा तथा क्वारेन्टिन बस्नुपर्ने बाध्यता हटाइनुपर्छ,’ उनले भने ।

आर्थिक वर्ष २०७८ /७९ को बजेटले सम्बोधन गरेका विषय कार्यान्वयन गर्न तथा आर्थिक वर्ष २०७८ /०७९ को मौद्रिक नीतिमार्फत घोषणा गरिएको सहुलियत कर्जा प्रवाह, पुनर्तालिकीकरण लगायतका व्यवस्था होटल तथा पर्यटन उद्योगमा सहज र सरलरुपमा वितरण गर्दै कार्यान्वयन पक्षमा जोड दिन व्यवसायीले सरकार समक्ष अनुरोध गरेका छन् ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अगष्ट महिनासम्मको आठ महिनाको अवधिमा कूल ६६ हजार ९६६ विदेशी पर्यटक नेपाल आएका छन् । सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

यही संकटका बीच पनि विदेशी राहदानी भएका नेपाली नेपाल आइरहेका छन् । कूटनीतिक नियोग, गैरसरकारी संस्था, बहुर्राष्ट्रिय कम्पनीका कर्मचारी पनि नेपाल भित्रिइरहेका छन् । अक्टोबर महिनामा हुने गैरआवासीय नेपाली सङ्घको निर्वाचनले पनि यो वर्ष नेपाल आउनेको संख्या बढ्ने अनुमान गरिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७