देउवाले अधिवेशनमा ‘एकलौटी’ गरेको भन्दै पौडेलले बोलाए आफ्नो समूहको बैठक


२८ भाद्र २०७८, सोमबार
Congress Sher bahadur deuwa ramchandra paudel

काठमाडौं, २८ भदौं । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सञ्चालन र राजनीतिक नियुक्ति र अधिवेशनमा ‘एकलौटी’ गरेको भन्दै पौडेल समूह छलफलमा जुटेको छ ।

देउवाले गृह जिल्ला डडेल्धुरामा राज्यशक्तिको दुरुपयोग गर्दै पार्टीको वडा अधिवेशनमा प्रहरी दमन गरेको भन्दै पौडेल समूह रुष्ट छ । पार्टी महाधिवेशन, सरकार विस्तारमा भएको ढिलासुस्ती र राजनीतिक शक्ति बाँडफाँटमा प्रधानमन्त्री समेत रहेका सभापति देउवाले गरेको एकलौटीपनको विषयमा छलफल हुने पौडेल समूहका एक नेताले जानकारी दिए ।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने ती नेताले जानकारी दिए । ‘सरकारले पूर्णता पाएको छैन, पूर्णता दिन पार्टीमा छलफल छैन’, उनले भने, ‘ओलीलाई तानाशाह भनेर हटाइयो, आज हाम्रो सरकार पनि त्यसै बन्छ कि भन्ने डरले छलफलमा जुटेका हौं ।’
बैठकमा महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र रामशरण महत तथा केन्द्रीय सदस्य शेखर कोइरालालगायत नेता सहभागी हुनेछन् ।

क्रियाशील सदस्यताको विषयमा विवाद हुँदाहुँदै डडेल्धुरामा वडा अधिवेशन भएकाले अब सदस्यताको विवाद बाँकी रहेका जिल्लामा कसरी अघि बढ्ने भन्नेबारे समेत बैठकले रणनीति तय गर्ने अधिकारीले बताए । यसअघि आइतबार पनि सोही समूहका शीर्ष नेताहरुबीच छलफल भएको थियो । पौडेल निवासमा भएको छलफलमा आफू निकट केन्द्रीय सदस्यहरुसँग परामर्श गरेर मात्र भावी कदम चाल्ने सहमति भएको थियो ।

सहमति बमोजिम बैठक आज बस्न लागेको हो । बैठकमा २० जिल्लाको क्रियाशील सूची तत्काल सार्वजनिक गरेर संसोधित कार्यतालिका बमोजिम अधिवेशनको माग गर्ने तयारी छ । ‘अब अधिवेशन गर्न पनि राज्यशक्ति र प्रहरी दमन सभापतिबाट सुरु भयो, यसले हामीभित्र डर पैदा गरेको छ’, ती नेताले भने, ‘२० जिल्लामा पनि यसरी अधिवेशन भयो भने हामी के गर्ने, साथीहरुको राय लिएर अघि बढ्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७