मलेसिया गएका युवा १६ वर्षदेखि बेपत्ता


२८ भाद्र २०७८, सोमबार

काठमाडौं, २८ भदौं । रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि वेपत्ता भएका छन् । महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका छोरा सर्वजित विक सम्पर्कविहीन भएका हुन् । विसं २०६२ मा रोजगारीका लागि मलेसिया गएका सर्वजित हालसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् ।

१६ वर्षसम्म छोराको अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गरेकी छन् । राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरुलाई ठूलो बज्रपात भएको उनले बताइन् ।

‘घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौं तर १६ वर्षसम्म छोराको अत्तोपत्तो नपाउँदा हामी छोराकै पीरले दिनको भोक न रातको निद भएका छौं’, विष्णुमायाले भक्कानिँदै भनिन्, ‘मलेसिया गएको चार वर्षसम्म छोराले फोन गरिरने गरे पनि त्यसपछि कुराकानी हुन छोडेको छ । अहिले उ कहाँ कस्तो अवस्थामा छ कुनै जानकारी छैन ।’

लामो समयसम्म पनि छोरो घर नफर्केपछि आमा बाबु चौबिसै घण्टा पिरोलिने गरेको बेपत्ता सर्वजितकी भाउजू सम्झना विकले बताइन् । काठमाडौं मेभ मेनपावरबाट मलेसिया गएका सर्वजित मलेसियाको सेलेङगर भन्ने ठाउँमा (निलेइ कम्पनी) हेन गल्वस कम्पनीमा काम गरेको उनका आफन्त विष्णुराम विकले बताए ।

चार वर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सर्वजित सम्पर्कबिहीन भएका उनको भनाई छ । सर्वजितलाई विदेश पठाउने मेनपावर अहिले बन्द भएको छ । हालसम्म धेरै खोजी गर्दा पनि सर्वजितको अवस्था पत्ता नलागे पनि विक परिवार अझै पनि छोरो घर फर्किन्छ भन्ने आशामा छन् । छोरा गएको ठाउँ मलेसियालगायत सबैतिर खोजिदिन परिवारले सरकारलाई आग्रह गरेका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७