राजस्व छलीमा कर्मचारीकै ‘सेटिङ’ : भन्सार पास गर्दा ७ हजार मुल्यको ज्याकेट मुल्य एक सय


२९ भाद्र २०७८, मंगलवार
Top Bahadur Bhusal

काठमाडौं, २९ भदौ : नेपालगञ्ज भन्सारका कर्मचारीहरुकै ‘सेटिङ’मा राजस्व छली भइरहेको तथ्य सार्वजनिक भएको छ । आयात गर्ने मालबस्तुको कम मुल्य राखेर दैनिक लाखौं राजस्व छली भइरहेको तथ्य एक दुई साता अघि भएको घटनाले पुष्टी गरेको हो ।


दुई अघि नेपालगञ्ज भन्सार कार्यालयबाट ‘युपी ४० टि ४२५९’ नम्बरको मालबाहक ट्रक जाँचपास भयो । आायात गरिएको बस्तुको मुल्य कम राखेर राजस्व छलि गरिएको सूचना राजस्व अनुसन्धान कार्यालय कोहलपुर र नेपालगञ्ज भन्सार कार्यालयमा पुग्यो ।

भन्सार कर्मचारी, भारतीय व्यापारी र ऐजेन्टको मेलेमतोमा राजस्व चुहावट गरिएको सूचना प्राप्त हुन साथ राजस्व अनुसन्धान कार्यालय कोहलपुरको टोलीले ‘युपी ४० टि ४२५९’ नम्बरको गाडीलाई नियन्त्रणमा लियो । गाडीलाई नियन्त्रणमा लिएर विभागले राजस्व अनुसन्धान कार्यालय कोहलपुरले अनुसन्धान गरिरहेको छ ।

स्रोतका अनुसार राजस्व तिर्ने बेला २२ सय पर्ने उनचिटरको मुल्य ७०, ७ हजारसम्म पर्ने ज्याकेटको मुल्य १ सय राखिएको थियो । साडी, ट्राउजर लगायतका कपडाको मुल्य नै नराखी भन्सार पास गरिएको थियो । स्रोतका अनुसार यो ट्रकमा १ करोड २७ लाख भन्दा बढीको सामान थियो । तर भन्सार पास गर्दा १० लाख वरिपरीको मात्रै देखाइएको छ । स्रोतका अनुसार यो घटना नयाँ भने होइन । पटक पटक कर्मचारीकै सेटिङ्गमा यसैगरी राजस्व छली हुने गरेको भन्सार स्रोतको दाबी छ ।

यसरी नक्कली मुल्य तयार पार्ने राजस्व अधिकृत हुन् तोपबहादुर भुसाल र जाँचकी रेवती गिरी । उनै अधिकृत भुसाल र जाँचकी गिरीको संग्लनतामा भारतीय व्यापारीको यो गाडी पास भएको थियो । आयातित सामानको कम मुल्य राखेर अधिकृत भुसाल र जाँचकी गिरीले राजस्व चुवाहट गरेको सूचना र उजुरी पटक पटक गरिएपछि यो गाडीलाई नियन्त्रणमा लिइएको थियो । अधिकृत भुसाल र गिरी राजस्व छलीमा ‘सेटिङकर्ता’ कर्मचारीका रुपमा चिनिएका हुन् ।

नेपालगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत जय बहादुर भण्डारीले युपी ४० टि ४२५९’ नम्बरको गाडी राजस्व अनुसन्धान कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको पुष्टी गरे । प्रमुख भण्डारीले नयाँ पेजसँग भने, ‘राजस्व चुवाहटको आशंकामा युपी ४० टि ४२५९ नम्बरको मालबाहक ट्रक राजस्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको सत्य हो । कर्मचारीहरुको कमजोरी देखिए कारबाही हुन्छ । राजस्व चुवाहट नियन्त्रणमा राजस्व अनुसन्धान कार्यालयसँग समन्वय भएको छ ।’


राजस्व चुवाहटलाई नियन्त्रण गरेर लक्ष्य अनुसारको राजस्व संकलनमा आफूहरु प्रतिबद्ध रहेको प्रमुख भण्डारीको भनाई छ । आफू मातहतका कर्मचारी सुशासनप्रति प्रतिबद्ध रहेर छरितो र पारदर्शी तरिकाले सेवा प्रवाहको निम्ती आफूले निर्देशित गरीरहेको तर नियतबस कमजोरी गरे कारबाही हुने प्रमुख भण्डारी बताउँछन् ।

राजस्व अनुसन्धान कार्यालय कोहलपुरका सूचना अधिकारी छत्रबहादुर अधिकारीले यो घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । उनले भने, ‘हो, राजस्व चुवाहटको सूचनाको आधारमा युपी ४० टि ४२५९ नम्बरको मालबाहक ट्रक विभागको नियन्त्रणमा लिएका छौं । अनुसन्धान भइरहेको छ ।’


नयाँ होइन घटना
नेपालको राजस्व आयातमा बढी आधारित छ । भन्सारमा संकलन हुने राजस्वको उच्च जोखिमयुक्त क्षेत्र हो । देशको अर्थतन्त्रको एउटा महत्वपूर्ण कडी भन्सारमा राजस्व यसरी चुवाहट हुँदा देशको अर्थतन्त्रमा नै असर परिरहेको विज्ञहरुको भनाई छ ।

खासगरी भन्सारमा कर्मचारी, ऐजेन्ट र व्यापारीको सेटिङ्गमा यसरी चुवाहट भइरहेको बताइन्छ । नेपालगञ्ज भन्सारमा कार्यरत भुसाल र जाँचकी गिरी करोडौं राजस्व चुवाहटमा संग्लन भएको अधिकारीहरुको दाबी छ । जाँचकी गिरीले भने आफूहरुले कुनै अनियमितता नगरेको दाबी गरे । उनले भने, ‘हामीले प्रज्ञापनपत्र घोषणा तयार पारेको गाडीलाई नियन्त्रणमा लिएको सत्य हो । हामीले कानुन अनुसार नै गरेका छौं । अनुसन्धानमा देखिएला नी ।’


अनुसन्धानमा पनि समस्या
अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको पाला अर्थात् २०७४ साल फागुन ११ गतेको निर्णयबाट राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राखिएको छ ।

राजस्व चुहावटको कसूरमा छानबिन गरेर कानुनअनुसार सरकारी वकिलको राय लिएर सम्बन्धित जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने अधिकार विभागलाई दिइएको छ । आर्थिक ऐन, २०७५ मा संशोधन समेत गरिएको छ । सांगठनिक संरचना समेत तयार पारिएको छ ।

इटहरी, पथलैया, वुटबल र कोहलपुरमा कार्यालय खुलेका छन् । तर ऐजेन्ट, व्यापारी र कर्मचारीहरुले यी कार्यालयमा समेत सञ्जाल तयार पारेर प्रभावित गरेको भन्दै आलोचना हुने गरेको छ । अहिले अधिकृत भुसाल र जाँचकी गिरी पनि अनुसन्धान प्रभावित पार्नका लागि दौडधुपमा रहेको अधिकारीहरुको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७