इजरायल जाने श्रमिकको भाषा परीक्षाको नतिजा सार्वजनिक, दुई हजार ३९ उत्तीर्ण (सूचीसहित)


२९ भाद्र २०७८, मंगलवार

काठमाडौं, २९ भदौं । रोजगारीका लागि इजरायल जाने श्रमिक छनौटका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
सोमबार लिइएको अंग्रेजी भाषाको लिखित परीक्षाको नतिजा वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको हो । लिखित परीक्षामा ६,३१७ जना सहभागी भएकोमा दुई हजार ३९ जना उत्तीर्ण भएका छन् ।

उत्तीर्ण हुनेमा १,३९५ जना महिला र ६४४ पुरुष छन् । भाषा परीक्षामा उत्तीर्णलाई अब उचाइ र तौल परीक्षण तथा अन्तर्वार्तामा सहभागी गराइनेछ । अन्तर्वार्तामा सहभागी हुँदा आवेदन दिँदा पेश गरेका कागजातको सक्कल र प्रवेशपत्र लिएर एक घण्टाअगाडि नै उपस्थित हुनुपर्ने छनौट समितिले जनाएको छ । असोज १ गतेदेखि ३ गतेसम्म उचाइ र तौल परीक्षण हुने जनाइएको छ । उचाइ र तौल परीक्षणमा उत्तीर्ण हुनेको असोज ४ गतेदेखि ९ गतेसम्म व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भैंसेपाटीमा अन्तार्वार्ता हुनेछ । इजरायल जाने श्रमिकको तौल कम्तीमा ४५ किलो र उचाइ १.५ मिटर हुनुपर्नेछ ।

अन्तर्वार्ता र शारीरिक परीक्षणपछि विभागले १४ सय जना छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाउनेछ । दूतावासले चिट्ठा प्रक्रियाबाट एक हजार श्रीमक छनोट गरेर भिसाको प्रक्रिया शुरु गर्ने विभागले जनाएको छ ।

इजरायल जानका लागि ७ सय महिला र ३ सय जना पुरुष छनोट हुनेछन् । इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने सम्झौता छ । इजरायल जाने श्रमिकले एक लाख ६५ हजार रुपैयाँ बुझाउनु पर्नेछ । इजरायलमा सरकारले नै श्रमिक पठाउन लागेको हो । उनीहरुले इन्स्योरेन्स, भिसा, स्वास्थ्य जाँच, हवाइ टिकटलगायतका खर्च आफै व्यहोर्नु पर्नेछ ।

केयर गिभरमा जानेले हप्ताको ४२ घण्टा काम गर्नुपर्नेछ । नेपालीले पनि त्यहाँका नागरिकसरह नै सुविधा पाउने छन् । इजरायलको वर्तमान तलब व्यवस्थाअनुसार एक लाख ८६ हजार रुपैयाँ (स्थानीय ५३ सय अथवा १६ सय अमेरिकन डलर) मासिक कमाइ हुनेछ ।

उत्तीर्ण हुनेहरुको सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७