खर्च कसरी चल्छ ? प्रधानमन्त्रीको जवाफ : हिजो जसरी चलेको थियो, त्यसै गरी चल्छ
काठमाडौं, २९ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट प्रतिस्थापन विधेयक संसदमा रोकिँदैमा सरकारी खर्च नरोकिने स्पष्ट पारेका छन् ।
बजेट प्रतिस्थापन विधेयक संसदबाट पारित नभएको अवस्थामा पनि कानुनी जटिलताका कारण सरकारी खर्च गर्न नरोकिने दाबी उनले गरेका हुन् । आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकपछि संसद भवन नयाँबानेश्वरबाट निस्किने क्रममा उनले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिएका थिए ।
‘बजेट प्रतिस्थापन विधेयक रोकियो, अब कसरी चल्ला सरकार ?’, सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘हिजो जसरी खर्च चल्यो त्यसरी नै चल्छ ।’ उता अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पास नहुँदा साता १० दिन सरकारी खर्च रोकिन सक्ने बताएका छन् ।
‘केही समय खर्च नगर्ने अवस्था पनि आउँछ । प्रतिस्थापन विधेयक पास नभएपनि देश चल्छ’, शर्माले भने, ‘कर उठाउने काम रोकिन्न, त्यसमा विशेष व्यवस्था छ, सरकारी खर्च चाहिँ रोकिने हो’, शर्माले भने, ‘केही दिन खर्च नगर्दा पनि देश चलाउन समस्या छैन । संसद चलिरहेकाले पेश्की अध्यादेश ल्याउन मिल्दैन ।’