प्राणघातक निपा भाइरस संक्रमणको उच्च जोखिममा नेपाल, भाइरसका लक्षण के-के हुन् ?


२९ भाद्र २०७८, मंगलवार
nipah virus

काठमाडौं, २९ भदौ : छिमेकी भारतमा प्राणघातक निपा भाइरसको संक्रमण देखिएसँगै नेपालमा पनि संक्रमणको जोखिम बढेको छ । भारतको केरला राज्यमा केही दिनअगाडि एक १२ वर्षीय बालकको निपा भाइरसका कारण मृत्यु भएको पुष्टि भएको थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार भारतमा थप दुई जनामा निपा भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सन् २०१८ को मे महिनामा पनि केरलामा निपा भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । त्यस बेला त्यहाँ १७ जनाको उक्त भाइरसका कारण मृत्यु भएको थियो ।

भारतमा संक्रमण देखिए लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपा भाइरस प्राणघातक भएको भन्दै त्यसबाट बच्नका लागि सर्तकता अपनाउन आग्रह गरेको छ । पत्रमा भाइरसका शंकास्पद लक्षण देखिएका व्यक्तिमा थप परीक्षण गर्न निर्देशन दिइएको छ ।

विगतमा पनि यसको मृत्युदर ७५ प्रतिशतसम्म देखिएको थियो । ७५ प्रतिशतसम्म अर्थात् १० जना संक्रमितमध्ये ७ जनाको मृत्यु भएको थियो ।भारतीय राज्य केरलको कोझिकोड जिल्लामा गत आइतबार निपा संक्रमणका कारण १२ वर्षीय बालकको ज्यान गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका १ सय १८ स्वास्थ्य निकायलाई पत्र पठाएको छ  ।


शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटमा संयोजकका रूपमा कार्यरत डा. शेरबहादुर पुनका अनुसार यो भाइरसको जोखिममा काठमाडौं र भत्तपुरमा छ । डा.पुनले भनेका छन्, ‘भारत, बंगलादेश, मलेसिया, थाइल्यान्डलगायत देशहरूमा ‘टेरोपस’ प्रजातिको चमेरामा गरिएका अनुसन्धानहरूले निपा भाइरसले संक्रमण गर्ने गरेको देखिएको छ । नेपालमा पनि काठमाडौं उपत्यकाको काठमाडौं र भक्तपुर लगायत विभिन्न जिल्लाहरुमा टेरोपस प्रजातिको चमेरा देखिएको अनुसन्धानहरूले देखाउँछ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएकाले कसैले पनि हेलचेक्र्याइँ गर्न नहुने बताए । भने, ‘हालसम्म नेपालमा पुष्टि भइसकेको छैन । यो अलिकति प्राणघातक छ, यसको मृत्युदर उच्च छ, तर यो यत्तिकै आउँदैन, यो संक्रमित पशुपंक्षीबाट मानवमा आउने हुनाले पशुपंक्षीले जुठो पारेका खोपेर छोडेका फलफूलहरु असावधानीवस पनि हामी नखाऔ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार निपा भाइरस जुनोटिक भाइरस हो जुन जनावरबाट मानिसमा सर्ने गर्दछ । यो भाइरस दूषित खाना र मानिसबाट मानिसमा सिधै पनि सर्न सक्छ । भाइरबाट संक्रमित जनावर जस्तै चमेरो तथा सुँगुरको थुक र पिसाबबाट मानिसमा सर्न सक्छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार यो भाइरस पहिलोपटक मलेसिया तथा सिंगापुरमा सन् १९९८–९९ मा देखिएको थियो । यो भाइरसको नाम मलिसियाको एक गाउँबाट राखिएको हो ।

यो भाइरस पहिलोपटक घरपालुवा सुँगुरमा देखिएको थियो जसबाट ३ सय जना संक्रमित बन्न पुगेका थिए र १०० जनाको मृत्यु भएको थियो । भाइरस नियन्त्रणका लागि १० लाखभन्दा बढी सुँगुर पनि मारिएको थियो । त्यसपछि यता भने उक्त ठाउँमा संक्रमण देखिएको छैन तर भारत र बंगलादेशमा भने बेला-बेलामा संक्रमण देखिएको छ ।

भाइरसका लक्षण के–के हुन् ?

  • ज्वरो आउने, टाउको दुख्ने र छिट्टै बेहोस जस्तो गराउने
  • रिँगटा लाग्ने, मांसपेशी दुख्ने
  • वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने
  • टन्सिल हुने
  • बिरामी भ्रमित हुने, अलमलमा पर्ने
  • अचेत अवस्थामा पुग्ने
  • चक्कर आउने
  • स्मरण शक्तिमा समस्या हुने र इन्सेफलाइटिसको संकेत गर्ने स्नायुसम्बन्धी समस्या
  • केही संक्रमितमा असामान्य निमोनिया र श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या समेत हुन सक्छ 

केही तथ्य

  • भाइरस मानिसमा सुँगुर र चमेराजस्ता जनावरबाट सर्न सक्छ
  • दूषित खाद्य पदार्थबाट पनि यो भाइरस सर्न सक्छ र यो मानवबाट मानवमा पनि सर्न सक्छ
  • मानिस वा जनावरका लागि यो भाइरसबाट जोगिने उपचार वा खोप छैन
  • मानिसहरूका लागि प्राथमिक उपचार भनेकै हेरचाह हो
  • मृत्यु दर ४० देखि ७५ प्रतिशत रहेको अनुमान गरिएको छ

स्रोत : विश्व स्वास्थ्य सङ्गठन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७