कर्णालीमा खाद्यबाली उत्पादन बढ्यो, तरकारी घट्यो


३० भाद्र २०७८, बुधबार
dhan banke3

कर्णाली, ३० भदौं । कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जनाएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७ / ७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र २.६९ प्रतिशत र ६.५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ ।

धानबाली ३.८१, मकै र कोदोबाली १७.४५ प्रतिशतले उत्पादन बढेको छ भने तरकारी उत्पादन २.२६ प्रतिशतले घटेको देखिएको छ । गत वर्ष सोही अवधिमा तरकारी उत्पादन २५ प्रतिशतले बढेको थियो । तरकारी उत्पादन सबैभन्दा बढी सल्यान र कम उत्पादन हुम्लामा भएको प्रतिवेदनले जनाएको छ ।

पशुजन्य उत्पादन अण्डा, मासु, माछा उत्पादन बढेको छ भने दुग्धजन्य उत्पादन ०.६९ ले कमी आएको छ । कोरोना महामारीबाट सिर्जित बन्दाबन्दी तथा निषेधाज्ञाका कारण तरकारी र दूधजन्य पदार्थको उत्पादनमा कमी आएको अध्ययनको निष्कर्ष छ ।

नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमुख विनय सिग्देलले आर्थिक वर्ष २०७६ /७७ को चैतदेखि २०७८ /७९ को भदौसम्म कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि अवलम्बन गरिएको पटक–पटकको बन्दाबन्दीले प्रादेशिक अर्थतन्त्रमा संकुचन ल्याएको बताए । राष्ट्र बैंकले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको देखिएको छ ।

यहाँ पर्यटक आवागमनको सङ्ख्या ९४.९६ प्रतिशतले घटेको छ । पर्यटकस्तरीय होटल तथा लजको सङ्ख्या ६.४३ प्रतिशतले घटे पनि होटलका बेड संख्या भने १२ प्रतिशतले बढेको छ । राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयले गरेको समीक्षा अवधिमा घरजग्गा रजिष्टे«शन र राजस्वमा उल्लेख्य वृद्धि भएको देखिएको छ ।

रजिष्ट्रेशन संख्या ५७ प्रतिशत र राजस्व १६२ प्रतिशतले वृद्धि भएको छ । यातायातका साधनको संख्यामा २.८३ प्रतिशतले कमी र सरकारी सामुदायिक चिकित्सकको संख्यामा २९.७३ प्रतिशतले वृद्धि भएको छ । सरकारी विद्यालयको संख्या ०.९४ प्रतिशतले घटेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले औद्योगिक कर्जातर्फ कुल कर्जाको १५.७० र कृषि प्रवाहतर्फ ७.७४ प्रतिशत कर्जा प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशमा सञ्चालनमा आएका साना तथा घरेलु उद्योगको संख्या १७ हजार ६३ रहेको छ । प्रदेशमा वाणिज्य बैंकका १९०, विकास बैंकका १७, वित्त कम्पनी चार, लघुवित्त विकास बैंक १९५ गरी ४०६ शाखा छन् । तीमध्ये सबैभन्दा बढी सुर्खेतमा १३२ र मुगुमा १० शाखा छन् । प्रदेशमा राजमार्ग र सहायकमार्ग गरी दुई हजार ७२५ किमी सडक सञ्जाल, सात विमानस्थल चालू अवस्थामा र यहाँबाट उत्पादित सात मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७