शंकर पोखरेलविरुद्ध सांसद वलीको उजुरी प्रहरीले लिन नमानेको माओवादीको आरोप


३० भाद्र २०७८, बुधबार
bimala JbmLtt2gyn

बुटवल, ३० भदौं । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित चार जनाविरुद्ध सांसद विमलाकुमारी खत्री (वली) को किटानी जाहेरी लिन प्रहरीले आलटाल गरेको नेकपा माओवादी केन्द्रले आरोप लगाएको छ ।

उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दर्ता गर्न प्रहरीले आलटाल गरेको माओवादीले आरोप लगाएको हो ।
साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर आफूलाई बन्धक बनाइएको वलीको आरोप छ । अपहरण तथा शरीर बन्धकसम्बन्धी कानुनअनुसार पोखरेलसहित चार जनालाई कारबाहीको माग गर्दै वलीले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न आलटाल गरेको लुम्बिनी प्रदेश माओवादी मुख्य सचेतक तुलाराम घर्ती मगरले बताएका छन् ।

‘हामी इलाका प्रहरी कार्यालय बुटवलमा गएका थियौं । तर प्रहरीले दाङ रिफर गर्नुपर्ने भन्दै अझैसम्म दर्ता गर्न आलटाल गरेको छ । हामीले यही गर्नुहोस् त्यसपछि जहाँ रिफर गरे पनि गर्नु होला भनेका छौं, तर प्रहरीले मानेको छैन’, मगरले भने । उनले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका किरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरेको बताए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएको भए पनि विमला वलीको घटनाको शुरु दाङमा भएकाले त्यहाँ नै उजुरी दर्ताको लागि जानुपर्ने बताएका छन् । ‘हामी कहाँ आउनु भएको थियो तर यहाँ भन्दा उतै जान पर्ने कानुनी आधार रहेकाले आफूहरूले उतै जान सल्लाह दिएको उनले बताए ।

माओवादीका प्रमुख सचेतक घर्तीले प्रहरी बुटवलमा दर्ता गरेर दाङमा रिफर गर्नुपर्नेमा ढिलाइ गरेको बताए । प्रहरीले तीन दिनसम्म दर्ता गर्न आलटाल गरेको भन्दै आज दिउँसो डिआइजीसँग कुरा गरेर भए पनि दर्ता गर्ने उनले बताए ।

दाङ प्रहरीले भने जाहेरी आफूकहाँ आइनपुगेको बताएको छ । दाङ प्रहरी प्रमुख सुरेश काफ्ले दाङमा उजुरी आएको बिषयमा अहिलेसम्म आफूलाई जानकारी नभएको बताएका छन् । दाङबाट उप निर्वाचनमा विजेता वली शुरुमा एमाले कि माओवादीको तानातान परेको बेला मुख्यमन्त्री कार्यालयमा आफूलाई बन्धक बनाएको भन्दै पत्रकार सम्मेलन गरेकी थिइन् ।

एमालेले उनी आफूहरूको सांसद रहेको र मुख्यमन्त्री कार्यालयमा स्वेच्छाले बसेको भन्दै पत्रकार सम्मेलन गरी एमाले प्रमुख सचेतक ढकालले दाबी गरेका थिए । एमालेले अहिले पनि विमला र नवलपरासी अजयबहादुर शाही एमालेको सूर्य चिन्हबाट टिकट लिएर चुनाव जितेकोले आफूहरू सांसद रहेको जिकिर गर्दै प्रदेश सभा अवरुद्ध पार्नेसम्मका गतिविधि गरेको छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७