कांग्रेस महाधिवेशन : काठमाडौंसहित थप सात जिल्लाको सदस्यता सूची सार्वजनिक


३० भाद्र २०७८, बुधबार
congress

काठमाडौं, ३० भदौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि थप सात जिल्लाको क्रियाशील सदस्यता नामावलीको सूची सार्वजनिक गरेको छ ।

क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन गठित कार्यदलले निर्वाचन समितिलाई सदस्यता हस्तान्तरण गरेपछि समितिले क्रियाशील सदस्यको सूची प्रकाशन गरेको हो । केन्द्रीय निर्वाचन समितिले बुधबार काठमाडौंसहित थप सात जिल्लाको नामावली पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।

यससँगै ६४ जिल्लाका कांग्रेस क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक भएको छ । ‘विवादित भएर रोकिएका १० जिल्लाको क्रियाशील सदस्यता हामीलाई प्राप्त भएको छ’, केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले भने, ‘हामीले सात जिल्लाको सूची प्रकाशित गरेका छौं । तीन जिल्लाको प्रावधिक रूपमा मिलाउने काम नसकिएकाले रोकेका छौं ।’ उनले बाँकी जिल्लाको क्रियाशील सूचीसँगै ती जिल्लाको पनि प्रकाशित हुने जानकारी दिए ।

आज (बुधबार) क्रियाशील सदस्यताको सूची प्रकाशित भएका जिल्लाहरूमा काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बर्दिया, कपिलवस्तु र बाजुरा रहेका छन् । अझै १३ जिल्लाको क्रियाशील सदस्यता भने टुङ्गिएको छैन । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदलले बाँकी २० मध्ये सात जिल्लाको नामावली बुझाएपछि सार्वजनिक गरिएको हो ।

खटाइयो निर्वाचन अधिकृत
समितिले नामावली सार्वजनिक भएका सात वटै जिल्लाहरुमा निर्वाचन अधिकृत पनि खटाएको छ । समितिले काभ्रेपलाञ्चोकमा राजेन्द्र लामिछाने, सिन्धुपाल्चोकमा छवीरमण निरौला र बर्दियामा लोकबहादुर शाहलाई निर्वाचन अधिकृत तोकेको हो । यस्तै मोरङमा केदार कार्की, बाजुरामा सन्तोष भण्डारी, कपिलवस्तुमा घनश्याम पन्त र काठमाडौंमा वरिष्ठ अधिवक्ता नरहरि आचार्यलाई निर्वाचन अधिकृत खटाइएको सचिव श्रेष्ठले जानकारी दिएका छन् ।

कांग्रेसले यसअघि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको क्रियाशील सदस्यता नामावली वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । त्यसअघि ५६ जिल्लाको नामावली सार्वजनिक गरेर वडा अधिवेशन सुरु गरिएको थियो । कार्यदलले नामावली बुझाएपछि निर्वाचन समितिले डडेल्धुरामा लोकेन्द्रबहादुर बमलाई निर्वाचन अधिकृत तोकेर वडा अधिवेशन गराएको छ । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेल्धुरामा सम्पन्न वडा अधिवेशनमा धाँधली भएको दाबी गर्दै स्वीकार नगर्ने अडान राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७