देशभर मौसम बदली, कहाँ–कहाँ छ बर्षाको सम्भावना ?


३१ भाद्र २०७८, बिहीबार
kathamandu

काठमाडौं, ३१ भदौं । आज (बिहीबार) विहान देशभर सामान्यदेखि पूर्ण बदली रहँदा सात वटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

काठमाडौं उपत्यकामा आज दिनभर मौसममा बदली रहने मौसमविदले जनाएका छन् । अधिकांश समय मौसममा बदली हुँदा घाम नलाग्ने मौसमविद् मीनकुमार अर्याल बताउँछन् । विहानैदेखि मौसम बदली रहेको काठमाडौंमा आज सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

‘काठमाडौंमा अझै केही दिन मौसममा बदली रहन्छ । शनिबारबाट भने मौसम केही खुल्ने छ’, उनले भने । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको आर्याल बताउँछन् । सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।

हल्कादेखि मध्यम तथा भारी वर्षाको सम्भावना रहेका क्षेत्रका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागको आग्रह छ । हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिणतर्फ रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७