विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा


१ आश्विन २०७८, शुक्रबार
biplaw

तनहुँ, १ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक आज (शुक्रबार) देखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सुरु हुँदैछ । नेकपाको ११ औं केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक होटेलमा हुन लागेको हो ।
बैठकमा सहभागी हुन सो पार्टीका महासचिव विप्लव बिहीबार बन्दीपुर आइपुगेका थिए । बैठक यही असोज ५ गतेसम्म सञ्चालन हुने नेकपाका जिल्ला सचिव एटमले जानकारी दिए ।

बैठकका लागि रिसोर्टको हल र सुत्नका लागि कोठा प्रयोग गरिए पनि बैठकमा सहभागी सदस्यका लागि खाना आफैले मेस चलाउने उनले बताए । बैठक हल होटेल सञ्चालकले निःशुल्क उपलब्ध गराएको बताइएको छ ।

बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी हुनेछन् । सो होटेलमा केन्द्रीय सदस्यसहित नेताको सुरक्षाका लागि पार्टीका पूर्व जनमुक्ति सेनाका सदस्य र युवा गरी १५० जना बसेका छन् । बैठक कक्षमा पत्रकारलाई प्रवेश नदिइने र बैठक अवधिभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारसँग कुरा गर्न नपाइने व्यवस्था गरिएको एटमले जानकारी दिए ।

बैठक सकिएपछि बन्दीपुरमा पार्टीका तर्फबाट नै पत्रकार सम्मेलन गरिने भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलो पटक केन्द्रीय समिति बैठक गर्न लागेको हो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७