संखुवासभा सामुहिक हत्याकाण्ड : लोकबहादुरका भाइ नरेशलाई ल्याइयो सदरमुकाम


१ आश्विन २०७८, शुक्रबार
Lok Bahadur Karki Sankhuwasava

संखुवासभा, १ असोज । संखुवासभा मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामुहिक हत्या भएको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई जिल्ला सदरमुकाममा ल्याइएको छ ।

लोकबहादुरका भाइ नरेश कार्कीलाई सोधपुछका लागि सदरमुकाम खाँदबारी ल्याएको प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले जानकारी दिए । हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् ।

मोबाइल बरामद गरेपछि प्रहरीले नरेशलाई बिहीबारदेखि नै नियन्त्रणमा राखेर सोधपुछ गरिरहेको छ । ‘हत्यापछि रञ्जनाको मोबाइल नरेशले कसरी पाए भन्नेबारे अनुसन्धान गर्दैछौं’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘लोकबहादुरले घरमा लगेर लुकाएको र नरेशले भेटेर चलाएको वा नरेश आफैंले लगे भन्ने खुल्न बाँकी छ ।’

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो । हत्यापछि संखुवासभा पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगम कुँवर, सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र संखुवासभाका डिएसपी लालध्वज सुवेदीसहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए । तेजबहादुर र परिवारका अन्य ५ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको थाहा भएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७