‘सुनकोशी–तेस्रो’ को प्रक्रिया अघि बढ्यो


१ आश्विन २०७८, शुक्रबार
sunkoshi 3 zWVSaPoyut

काभ्रे, १ असोज । सुनकोशी–तेस्रो (६८३ मेगावाट) विद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ । यसका लागि नेपाल सरकारका प्रस्तावमा बङ्गलादेश सरकारले आउँदो डिसेम्बरमा आयोजना निर्माणस्थल काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदी अन्तर्गत काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको भ्रमण गर्ने सहमति जनाएको बताइएको छ ।

गत मङ्गलबार नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकले उक्त आयोजना निर्माण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । बैठकमा ६०० मेगावाटको खिम्ती शिवालय जलविद्युत् आयोजना निर्माणका लागि पनि बङ्गलादेशलाई नै प्रस्ताव गरिएको ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधु भेटवालले बताए ।

उनका अनुसार सुनकोशी तेस्रोका लागि नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की र बङ्गलादेशको तर्फबाट शक्ति, ऊर्जा र खनिज मन्त्रालयको विकास तर्फका सचिव मोहमद हबिबुर रहमानले नेतृत्व गरेका थिए ।

नेपालबाट बङ्गलादेशमा विद्युत् व्यापारका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डलाई तोकिएको छ । दुई देशबीच सन् २०१८ मा उर्जा क्षेत्रमा सहकार्यको सम्झौता भएकामा बङ्गलादेशले नेपालको एउटा राष्ट्रिय गौरवको आयोजना निर्माण गर्ने प्रस्ताव गरेको थियो । हाल विद्युत् विकास विभागद्वारा विभिन्न चरणमा अध्ययन भइरहेको यस आयोजनालाई बङ्गलादेशले संयुक्त लगानीमा निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो ।

आयोजनाका लागि सर्वेक्षण, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत इञ्जिनियरिङ डिजाइनको काम पनि सकिएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र स्थानीयस्तरमा सार्वजनिक सुनुवाइको काम बाँकी रहेको विभागका इञ्जिनीयर सुवास थपलियाले जानकारी दिए ।

उनका अनुसार गत सालदेखि नै कोभिड–१९का कारण इआइए र स्थानीयस्तरमा सार्वजनिक सुनुवाइको काम हुन सकेको छैन । यी दुवै काम कोरोनाको जोखिम हटेपछि थालिने भएको छ । इआइएका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबाट कार्यसूची र क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृति भइसकेको छ ।

इञ्जिनीयर थपलियाले भने, ‘कोभिडका कारण परामर्शदाता कम्पनीले फिल्डमा गएर काम गर्ने वातावरण नभएकाले इआइएको काम यो वर्ष पनि सरेको छ ।’ परियोजनाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टिओआर) को प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरसको उच्च जोखिमका कारण यसको बाँकी काम रोकिएको थियो ।

एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोशी–तेस्रोको टिओआर २०७६ माघमै विद्युत् विकास विभागलाई बुझाइसकेका थिए । टिओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाइन’ देखि सर्वेक्षणसम्मको काम सकिएको जनाइएको छ । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा असर पर्ने घरपरिवार तथा क्षेत्र र समुदायलाई उपलब्ध गराउने क्षतिपूर्तिलगायतका विषय समेत उल्लेख गरिएको थियो । साथै आयोजनाबाट असर पर्नसक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडाका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, सरोकार व्यक्ति तथा सङ्घसंस्थाबाट सुझाव समेत मागिएको थियो ।

विभागले सुनकोशी तेस्रो र सुनकोशी दोस्रो आयोजनाको अध्ययनका लागि रु १९ करोड बजेट विनियोजन गरेको थियो । दुवै आयोजना अध्ययनको काम सक्न रु ३३ करोड लाग्ने इञ्जिनीयर थपलियाले बताए । उनले भने, ‘हालसम्मको विभिन्न अध्ययनबाट सुनकोशी राम्रोभन्दा पनि तेस्रोको सम्भावना देखिँदै आएको थियो ।’ परियोजनाअन्तर्गत सुनकोशी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सीमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभूघाटमा विद्युत् आयोजनाको बाँध निर्माणका लागि प्रस्ताव गरिएको छ ।

प्रस्तावित आयोजना सुनकोशी–३ बाट ५३६ मेगावाट विद्युत् उत्पादन हुने र यसका लागि लुभूघाटस्थित नदीमा करिब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेण्ड पानीलाई एक दशमलब एक किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङबाट लुभूघाट नजिक निर्माण गरिने विद्युत गृहमा लगिने र विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोशी नदीमा खसालिनेछ । आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका करिब एक हजार ६०० परिवारलाई असर पुग्नसक्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

आयोजनाबाट सिन्धुपाल्चोकको तीन गाउँपालिका र दुई नापा, काभ्रेपलाञ्चोकको तीन गाउँपालिका र दुई नपा, रामेछापको दुई गाउँपालिका तथा सिन्धुलीको एक गाउँपालिकामा असर पर्ने देखिएको छ । वातावरण संरक्षण ऐन २०५३ तथा वातावरण संरक्षण नियमावली २०५४ को नियम ४ (१), अननुसूची–२ बमोजिम इआइए प्रतिवेदन तयार गर्दा असर पर्ने क्षेत्रमा भौतिक, जैविक, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित सवालमा ‘राय–सुझाव’ लिनुपर्ने भएकाले समय सीमा तोकेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले संयुक्तरुपमा सार्वजनिक अपिल गरिसकेका छन् ।

सांसद गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय गौरवको आयोजना सुनकोशी तेस्रोको प्रक्रिया अघि बढ्दा विकासे सपना साकार बन्दै गएको बताए । आयोजनाबाट असर पर्ने परिवारलाई स्थानान्तरण गर्न सरोकार निकायसँग छलफल गर्ने तयारी कोरोनाका कारण रोकिएको छ भन्दै उनले आयोजना बने माछापालन, बोटिङ, होटल तथा थप पर्यटकीय गन्तव्य स्थलको विकास हुने जानकारी दिए ।

सन् १९८५ मै जापान इन्टरनेशनल कोअपरेशन (जाइका) ले त्यस क्षेत्रमा जलाशययुक्त विद्युत्को सम्भाव्यता अध्ययन गरेको थियो । उक्त संस्थाका अनुसार १० उत्कृष्ट जलाशययुक्त विद्युतमध्ये सुनकोशी तेस्रो एक हो । विसं २०२२ मा पनौतीमा नेपालकै तेस्रो जलविद्युत् आयोजना (दुई दशमलब चार मेगावाट क्षमता) निर्माणपश्चात् प्रस्तावित सुनकोशी–३ जिल्लाको दोस्रो आयोजना हुने भएको छ ।

वि.सं २०७५ चैत महिनामा काठमाडौंमा सम्पन्न दोस्रो लगानी सम्मेलनमा पनि यस आयोजनालाई समावेश गरिएको थियो । आयोजनामा पहुँच मार्ग पुगिसकेको छ भने प्रसारण लाइनका लागि पनि समस्या छैन । यो आयोजना निर्माणस्थल काठमाडौंबाट ६० किलोमिटरको दूरीमा छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७