१० भाइबारे माधव नेपालले भने, ‘छोडेर जाने गइसके, अब सम्झिएर के हुन्छ ?’

‘अनेक नाम र उपमा दिएर कसैलाई अपमान हुने गाली नगरौं’


१ आश्विन २०७८, शुक्रबार
Madhav with close journalists

काठमाडौं, १ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमा बसेकाहरु ढिलो–चाँडो आफ्नो पार्टीमा आउने बताएका छन् ।

आज (शुक्रबार) एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरु अल्मल्लिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिसहरु ढिलो–चाँडो एकीकृत समाजवादीमा आउने बताएका हुन् ।

उनले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरु समाजवादीमा रुपान्तरित भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गरे । पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उनले जानकारी दिएका छन् । उनले भने, ‘पार्टीको ७७ वटै जिल्लामा संगठनहरु बनिरहेका छन् । हिजो हामीले २०७७ चैत्र ४ र ५ गते पश्चात बनाएका पार्टी र सबै जनवर्गीय संगठनहरु रुपान्तरित भइरहेका छन् । त्यस अर्थमा यो नितान्त नयाँ पार्टी होइन ।’

‘पुरानो पार्टीभित्रको क्रान्तिकारी धारले, नेकपा (एमाले) भित्रको क्रान्तिकारी धारले शुरु गरेको यो पार्टीको नयाँ यात्रा हो । क्रान्तिकारीहरु, परिवर्तनकारीहरु, इमान्दार र निष्ठावानहरु अहिले यो पार्टीमा आवद्ध भएका छन् । कतिपय मानिसहरु अझै त्यहाँ अल्मल्लिएका होलान्, असल मानिसहरु पनि भ्रमबस् बसिरहेका होलान् । असल भावना भएका मानिसहरु पनि । ती व्यक्तिहरुले ढिलो–चाँडो हाम्रो यो पार्टीमा आउनै पर्छ । उहाँहरुलाई हामी स्वागत गर्नेछौं ।’

अध्यक्ष नेपालले व्यवसायीहरुलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पुर्‍याउन पनि आग्रह गरे । उनले व्यवसायीहरुलाई जलविद्युत, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा योगदान पुर्‍याउन उनको आग्रह छ ।

यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छाडेर नेकपा एमालेतिर लागेका १० जना नेताको अपमान नगर्न आफू निकट पत्रकारहरुलाई आग्रह गरेका छन् ।

नयाँबानेश्वरस्थित जनता डबलीमा शुक्रबार १ बजेदेखि दुई घण्टासम्म पार्टी प्रचार विभाग र समाजवादी प्रेस संगठनका पत्रकारहरूसँगको अन्तरक्रियाका क्रममा अध्यक्ष नेपालले छाडेर जानेहरूलाई सम्झिएर अब केही नहुने पनि बताए । नयाँ पार्टी गठनपछि संगठन निर्माण र विस्तारलाई प्राथमिकता दिइरहेका अध्यक्ष नेपालले निकट पत्रकारहरुलाई पनि संगठित गरिरहेका छन् । जगन्नाथ खतिवडालाई प्रचार विभाग प्रमुख बनाएसँगै आफू निकट पत्रकार संगठित गर्ने अभियान नेपालले थालेका हुन् ।

प्रेस चौतारी छाडेर समाजवादीतिर लागेका विश्वमणि सुवेदीसहितको संयोजनमा भएको उक्त छलफलका क्रममा नेपालले आफूलाई राजनीतिक यात्रामा सीपी मैनालीसहित कयौं नेताले छाडेको बताउँदै १० भाइको श्रृखंला पनि त्यसकै निरन्तरता भएको उल्लेख गरे ।

छलफलका क्रममा उनलाई पत्रकारहरुले पार्टी विभाजनको निर्णायक समयमा छाडेर गएका १० जना स्थायी कमिटी सदस्यहरूबारे जिज्ञासा राखेका थिए । त्यसक्रममा उनले आफूलाई धोका दिएर जानेहरूलाई सम्झिएर (मिस गरेर) बसिरहँदा फाइदा नहुने प्रतिक्रिया दिएका छन् ।
‘छोडेर जाने गइसके । अब उनीहरुलाई सम्झिएर (मिस गरेर) के हुन्छ र ? राजनीतिक यात्राका क्रममा कयौं साथीहरुसँग यात्रा छुटेको छ’, उनले थपे, ‘पछिल्लो पटक छाडेर जानेहरू हामीसँगै आइदिए त हुने थियो ।’

उनले छलफलका क्रममा छाडेर गएका १० स्थायी कमिटी सदस्यहरुलाई अपमान हुने गरी कुनै समाचार नलेख्न पनि आग्रह गरेका छन् । उक्त छलफलमा सहभागी एक जना पत्रकारका अनुसार अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको शक्ति संघर्षमा साथ दिएर अन्तिममा छाडेर जानेहरूलाई होच्याउने किसिमका कुनै सामग्री नबनाउन पनि भनेका छन् ।

‘छाडेर त गइसक्नु भएको छ । अब उहाँहरुको मन दुखाउने काम तपाईंहरुबाट पनि नहोस् । उहाँहरु कसैलाई पनि अपमान हुने गरी काम नगरौं’, नेपालको भनाइ उद्धृत गर्दै ती पत्रकारले भने, ‘तपाईंहरुले पनि अरुबाट त्यस्तो काम हुन दिनु भएन । अनेक नाम र उपमा दिएर गरिने गालीसहितका गतिविधि रोक्नुस्, त्यस्ता गतिविधि उचित होइनन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७