मुलुकको विकास र समृद्धिका लागि एमसीसी पास गर्नुपर्छ : कानुनमन्त्री कार्की


प्रकाशित मिति : September 17, 2021

सुनसरी, १ असोज । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताएका छन् ।

आज (शुक्रबार) कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुगेका मन्त्री कार्कीले एमसीसी मुलुकको विकास र समृद्धिका लागि आवश्यक रहेको औंल्याए ।

उनले दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढेको भन्दै जसरी भए पनि संसद्बाट पास गराउनु पर्ने बताए । एमसीसी विकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्न नहुने उनको भनाइ छ । एमसीसी संसदबाट पास गराउनका लागि सबैबीच सहमतिको खाँचो रहेको उनले बताए ।

मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद् बैठकले बजेटको विषय अघि बढाउने पनि जानकारी गराए । संसदभित्रको गतिरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल जारी रहेको जानकारी गराउँदै उनले केही दिनभित्रै राजनीतिक निकास निस्कने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्