सुदूरपश्चिममा तामाङ र बोहराले लिए मन्त्रीको शपथ


१ आश्विन २०७८, शुक्रबार
tara lama maya bohara yJLrkHBKUO

धनगढी, १ असोज । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिमण्डललाई पूर्णता दिएका छन् । आज (शुक्रवार) मुख्यमन्त्री भट्टले आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी) का सांसद तारा लामा तामाङ र राज्यमन्त्रीमा माया तामाङ (बोहरा) लाई नियुक्त गरेका छन् ।

नव नियुक्त आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङ र राज्यमन्त्री माया तामाङ (बोहरा) ले शुक्रवार बेलुका नै पद तथा गोपनीयताको सपथ पनि लिएका छन् । नेकपा (एमाले) विभाजनपछि सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाह र राज्यमन्त्री अर्चना गहतराजले एमालेमै बस्ने निर्णय गर्दै भदौ २२ गते राजीनामा दिएका थिए ।

आर्थिक मामिला तथा योजना मन्त्रालय रिक्त रहेपछि अपूर्ण रहेको प्रदेश सरकारको मन्त्रिमण्डललाई मुख्यमन्त्री भट्टले झण्डै १० दिनपछि पूर्णता दिएका हुन् । तत्कालीन नेकपा एमालेको माधव समूहको भागमा परेको आर्थिक मामिला तथा योजना मन्त्रालय नेपाल नेतृत्वको नवगठित एकीकृत समाजवादीले नै पाएको छ ।

तामाङ कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ (क) बाट विजयी भएका थिए । तत्कालीन नेकपा एमालेमा सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकको जिम्मेवारी समेत उनले सम्हालिसकेका थिए । माधव नेपाल समूहमा रहेर भीम रावलसँग निकट रहेका तामाङ एमाले कञ्चनपुरको अध्यक्ष पनि थिए । नेकपा एमाले विभाजनपछि तामाङले एकीकृत समाजवादी रोजेका हुन् । यस्तै राज्यमन्त्री नियुक्त भएकी माया तामाङ (बोहरा) बझाङकी सांसद हुन् । तत्कालीन नेकपामा देखिएको धुव्रीकरणमा उनी ओली समूहमा थिइन् ।

गत चैतमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने ओली समूहका ७ सांसदमध्ये एक उनी पनि थिइन् । तर एमालेको विभाजनमा बोहराले ओली समूह छोडेर एकीकृत समाजवादी पार्टी रोजेकी थिइन् । एकीकृत समाजवादी पार्टीलाई प्रदेश सभामा सबैभन्दा ठूलो पार्टी बनाउन बोहराले भूमिका खेलेकी थिइन् ।

भदौ २१ अघिसम्म एमालेका १३ सांसदले मात्रै एकीकृत समाजवादीमा सनाखत गरेका थिए। जुन प्रदेश सभामा माओवादी केन्द्रको सिट संख्यासँग बराबर थियो । भदौ २१ मा एकीकृत समाजवादीमा सनाखत गर्दै बोहराले सो पार्टीलाई प्रदेश सभाको ठूलो पार्टी बनाइ दिइन् । पार्टीलाई प्रदेश सभामा ठूलो बनाउन सघाउने उनै बोहरालाई एकीकृत समाजवादीले मन्त्री बनाएको हो । यो सँगै सुदूरपश्चिममा मुख्यमन्त्रीसहित ११ जना मन्त्री पुगेका छन् । एकीकृत समाजवादीकी पूर्णा जोशीले आन्तरिक मामिला तथा कानून मन्त्रालय, लाल बहादुर खड्काले सामाजिक विकास मन्त्रालय, दीर्घ सोडारीले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा छन् ।

यस्तै एकीकृत समाजवादीका दुई जना राज्यमन्त्री (मना कुमारी साउँद र चुनु कुमारी चौधरी) पनि प्रदेश सरकारमा छन् । उता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा माओवादी केन्द्रकी विनिता देवी चौधरी मन्त्री तथा मान बहादुर सुनार राज्यमन्त्री र मानबहादुर धामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७