चीनबाट ल्याइएको ४४ लाख डोज खोपको वितरण सोमवारबाट, कहाँ-कहाँ लगाइन्छ ?


१ आश्विन २०७८, शुक्रबार
chinese vaccine vero cell scaled

काठमाडौं, १ असोज : सरकारले चीनबाट खरीद गरेर ल्याएको ४४ लाख डोज भेरोसेल खोपको वितरण सोमबारबाट गरिने भएको छ । शुक्रवार नेपाल आइपुगेको ४४ लाख डोज भेरो सेल खोप आगामी असोज ४ गते देखि १४ गतेसम्म वितरण गरिने भएको हो ।

स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत उक्त परिमाणको खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । चीनसँग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो ।

कहाँ लगाइन्छ ?
१० वटा हिमाली जिल्लामा १८ वर्षभन्दा माथिको उमेर समूहका सबै नेपाली नागरिकलाई खोप वितरण गरिने स्वास्थ्य सेवा विभागको खोप महाशाखाका निर्देशक डा. सागर दाहालले बताए । हिमाली १० जिल्ला ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा, र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन हुने दाहालको भनाइ छ ।

यसैगरी काठमाण्डौं भक्तपुर, ललितपुर, रामेछाप, सर्लाही, मकवानपुर र अछाम जिल्लामा ४० वर्षभन्दा माथिका सबै नागरिकलाई पनि खोप लगाइने दाहालको भनाई छ ।

भेरो सेल खोप चिनियाँ सरकारको स्वामित्वमा रहेको सिनोफार्म नामक कम्पनीले उत्पादन गरेको हो । यो खोपलाई डब्ल्यूएचओले मान्यता दिएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार लक्षणसहितका बिरामी र अस्पताल जानुपर्ने अवस्थामा सबै उमेर समूहका मानिसमा यो खोप ७९ प्रतिशत प्रभावकारी देखिएको छ।

हालसम्म २४ लाख ४८ हजार कोभिशिल्ड, ७४ लाख भेरोसेल, १६ लाख जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३२० एस्ट्राजेनेकाको खोप नेपालमा आइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारसम्मको तथ्यांक हेर्दा देशभरि ५४ लाख ७३ हजार १५१ जनाले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाइसकेका छन् । त्यसैगरी ६० लाख ५७ हजार १९४ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७