नाइजेरियामा हवाइ हमला : नौं जनाको मृत्यु, २३ घाइते


२ आश्विन २०७८, शनिबार

काठमाडौं, २ असोज । नाइजेरियामा विद्रोहीलाई लक्षित गरी सरकारी पक्षले गरेको हवाई आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरू २३ जना घाइते भएका छन् ।

आपतकालीन सेवासम्बन्धी सरकारी निकायका अधिकारीले दिएको जानकारीअनुसार घटनामा परी निर्दोष आम नागरिक बढी पीडित भएका छन् । नाइजेरियाली विमानले यही हप्ताको सुरुमा आक्रमण गरेको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । बोको हराम र इस्लामिक स्टेटमा आबद्ध व्यक्तिहरू रहेको सूचनाका आधारमा आक्रमण गरिएको हो ।

विद्रोहीहरूलाई लक्षित गरेर आक्रमण गरेको भए पनि आम सर्वसाधारण समेत पर्नुलाई सरकारी अधिकारीहरूले ‘भूलबस भएको कमजोरी’ को रुपमा लिएका छन् । सन् २००९ देखि नाइजेरियामा जिहादी विद्रोहीहरुसँग सरकारी सुरक्षाकर्मीहरुको भिडन्त हुँदै आएको छ । सरकार विद्रोहीबीचको द्वन्द्वका कारण अहिलेसम्म ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।

त्यसैगरी द्वन्द्वमै परेर अरू झण्डै २० लाख मानिस आफ्नो घरबाट विस्थापित भएका पनि सरकारी अधिकारीहरूले जनाएका छन् । लडाकू विमानले बुधबार योबे राज्यको बुहारी गाउँमा आक्रमण गरेको हो । घटनास्थल छिमेकी मुलुक नाइजरसँगको सीमा क्षेत्रमा पर्दछ । त्यस ठाउँमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने अरू कम्तीमा १९ जना घाइते भएको स्थानीयले बताएका छन् ।

तर योबे राज्यको विपद् व्यवस्थापन प्रमुख मोहम्मद गोजेले कम्तीमा नौ जनाको मृत्यु भएको शुक्रबार पुष्टि गरे । ‘घटनामा परी अन्य कम्तीमा २३ जना घाइते भएका छन्, घाइते हुनेमा महिला, बालबालिका बढी छन्’, घटनास्थलको भ्रमणबाट फर्केका गोजेले भने । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरूको राज्य राजधानी डामातुरुमा रहेको अस्पतालमा उपचार भइरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७