काष्ठमण्डप पुनर्निर्माण : ९६ प्रतिशत काम सकियो


२ आश्विन २०७८, शनिबार
kasthamandap

काठमाडौं, २ असोज । ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण आगामी दशैंअघि नै सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । अहिले ९६ प्रतिशत काम सम्पन्न भएको छ । अब चार प्रतिशत काम मात्र बाँकी छ ।

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेकाले दशैंसम्म सक्ने लक्ष्य छ । ‘यसबीचमा केही अवरोध नआए ढुक्कसँग दशैंअघि काम सम्पन्न हुने थियो’, अध्यक्ष शाक्यले भने, ‘अन्य निर्माण सम्पन्न गरी अहिले छानो छाउने काम भइरहेको छ ।’

विसं २०७२ को वैशाख १२ गते आएको भूकम्पले काष्ठमण्डप पूर्णरुपमा क्षति भएको थियो । सातौं शताब्दीमा निर्माण गरिएको यस सम्पदाको पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । पुनर्निर्माणको काम २०७५ को वैशाखदेखि सुरु गरिएको हो । निर्माणका लागि कामपाले हालसम्ममा रु ११ करोड ५० लाख दिइसकेको छ ।

पुनर्निर्मित उक्त ऐतिहासिक सम्पदामा गत साउन दोस्रो साता मूल गजुर भित्र्याइएको थियो । काष्ठमण्डपसँगैको श्रीखण्डतरुमुल महाविहारभित्र तीन दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुरलाई भित्र्याइएको हो । गजुरलाई काष्ठमण्डपभित्र बिसाइ सकेपछि सिँख्वःमूबहाःया पण्डित प्रा यज्ञमानपति बज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुले चर्या नृत्यसहित प्रतिस्थापन पूजा गरिएको थियो । सालको काठबाट बनाइएको गजुरमा १३ चक्की छन् ।

उक्त सम्पदा पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । प्रयोग हुने काठमध्ये केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७