कान र नाकको सुनको मुन्द्रा हत्याउन आफ्नै हजुरआमाको हत्या

आँगन नजिकै गाडेको अवस्थामा भेटियो शव


२ आश्विन २०७८, शनिबार
bajhang

बझाङ, २ असोज । बझाङका एक युवकले कान र नाकको सुनको मुन्द्रा हात पार्न आफ्नै हजुरआमाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङमा प्रहरीले आफ्नै हजुरआमाको हत्या आरोपीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । हजुरआमाको हत्या आरोपमा विहीबार पक्राउ परेका दुर्गाथली गाँउपालिका–५ का २३ बर्षीय सुवास जप्रेललाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

सुवास जप्रेलले भदौ २७ गते विहान ८-९ बजेको समयमा धारिलो हतियार हँसिया प्रयोग गरी ८५ बर्षीया आफ्नै हजुरआमा रिखीदेवी जप्रेलको हत्या गरेका थिए । एउटै घरमा बस्दै आएका सुवासले हजुरआमाको हत्या गरी आँगन नजिकै शव गाडेको अवस्थामा ३० गते नै प्रहरीले शब फेला पारेको थियो ।

सुवासले हजुरआमाको कानमा लागाएका २ थान सुनका मुन्द्रा र नाकमा लागएको १ थान सुनको मुन्द्रीको लोभले हत्या गरेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनले भने, ‘सुनको लोभले हजुरआमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।’

घटना २७ गते बिहान घटेको र दिउँसो उक्त गहन विक्री गरी फेरि बेलुकी ६÷७ बजेको समयमा घटनास्थल पुगी भित्र भएको शवलाई तानेर घर आँगनकै अघिपट्टी खाल्डो खनेर गाढेको जप्रेलले स्वीकार गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको समेत डिएसपी खड्काले बताएका छन् ।
यसरी गरियो हत्या
२७ गते घटना भएको भए पनि प्रहरीलाई भने खबर ३० गते मात्रै भएको थियो । वडा नम्बर–५ का वडाअध्यक्ष समेत रहेका रामबहादुर जप्रेलले आमा २७ गतेदेखि घरमा नदेखेपछि खोजी गर्नुभयो तर कतै पनि पत्तो पाइएन ।

कतै पनि पत्तो नपाएपछि उनले प्रहरीलाई खबर गरेका थिए । घरभित्र हेर्दा रगतका छिटा समेत देखेपछि उनले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । त्यति बेलासम्म हत्याका आरोपित सुवास परिवारकै सम्पर्कमा थिए ।

सुवास २८ गते सदरमुकाम चैनपुरसम्म पुगेर केही कपडा खरिद गरी कपालमा रातो मेहन्दी समेत लगाए । सुवास २८ गते चैनपुरमै बसेर २९ गते गाउँतिर लागेको र उनी २९ गते हजुरआमा र आफू बस्ने घरमा नगएर अरुकै घरमा बसेका थिए । ३० गते बेलुका गाउँमा गाईंगुई हल्ला चलेपछि वडाअध्यक्ष समेत रहेका जप्रेलले प्रहरीलाई खबर गरेका थिए । खबर पाउने वित्तिकै जिल्लाबाट समेत प्रहरीको टोली घटनास्थलमा पुग्ने बारे जानकारी पाएपछि सुवास गाउँबाट ३१ गते बिहान फरार रहे ।

सुवासलाई भाग्दै गरेको अवस्थामा दुर्गाथली गाउँपालिका–७ को लौवादेब डाँडाबाट पक्राउ गर्न प्रहरीको टोली सफल भयोे । सुवासले साथीसँग हुजर आमाको हत्याका बारेमा समेत कुराकानी गरेको स्रोतले जनाएको छ । प्रहरीले घटनाको विस्तृप्त रुपमा अनुसन्धान गरी रहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७