कसरी शुरु भयो इन्द्रजात्रा ? यस्तो छ यसको किंम्बदन्ती


२ आश्विन २०७८, शनिबार
naradevi nach 0001 15092017074137

काठमाडौं, २ असोज । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्रा शुरु भएको छ । आज (शनिबार) बिहान इन्द्र जात्राको इन्द्रध्वजोत्थान गरिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आज बिहान ६ः५१ बजे इन्द्रजात्राको लिङ्गो ठड्याइएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । मुख्य जात्रा आइतबार हुने भए पनि आजैदेखि विभिन्न देवीदेवताका नामका नाच सुरु भएको हो ।

कार्यालयका मूल पुजारी देवराज अर्यालद्वारा विधिपूर्वक पूजा आराधना एवं हवन गरी शुभ साइतमा इन्द्रध्वजोत्थान गरिएको हो । सो अवसरमा नेपाली सेनाको शार्दुलजङ्ग गुल्मले धिमे बाजासहित मङ्गल धुनको प्रस्तुति गरेको थियो । इन्द्रध्वजोत्थानसँगै आज बिहान वसन्तपुर दरबार क्षेत्रमा देवी नाच पनि प्रस्तुत गरिएको छ ।

आजदेखि यही असोज ८ गतेसम्म १९ किसिमका नाच पनि वसन्तपुर क्षेत्रमा प्रस्तुत गरिन्छ । भक्तपुर, हलचोकलगायत उपत्यकाका विभिन्न स्थानबाट वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राका अवसरमा नाच प्रस्तुत गर्ने परम्परा छ । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन आइतबार कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम छ ।

असोज ८ गते नानिचा यात्रा गरिने छ । त्यसै दिन राति १०ः३६ बजे इन्द्रध्वज पातनअर्थात् लिङ्गो ढालिने साइत छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ । कोरोना महामारीका कारण गत वर्ष पूजा आराधनामात्र गरेर यात्रा स्थगित गरिएको थियो । यस वर्ष सरोकार भएका निकायको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम उपस्थिति गराएर जात्रा गर्न लागिएको गुठी संस्थान काठमाडौँ कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए ।

जात्राको तयारीस्वरुप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ मर्मत गरिएको छ । तीनै वटा रथ शुरु गरिने इन्द्रजात्राको मुख्य दिन असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार क्षेत्रमा सहभागी हुने कार्यक्रम तय भएको आयोजकहरुले बताएका छन् ।

भदौ २३ गते बुधबार बिहान १०ः५२ मा वनयात्रा गरी इन्द्रजात्राका कार्यक्रमको सुरुआत भएको थियो । भदौ २९ गते बिहान १०ः३४ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको थियो ।

इन्द्रजात्राका विषयमा विभिन्न किम्वदन्ती प्रचलित छ । एउटा भनाइअनुसार वर्षा राम्रोसँग सम्पन्न भई बाली लगाइएकाले अब बिदा लिनुस् भनी वर्षा अन्त्यको कामना गर्न यो जात्रासँगै विभिन्न देवीदेवताको नाच देखाउने क्रम शुरु भएको हो ।

हनुमानढाकोका मूल पुरोहित अर्यालका अनुसार अर्को किम्वदन्ती पनि छ । त्यो किम्बदन्ती अनुसार स्वर्गका राजा इन्द्र आफ्नी आमाको व्रतका लागि पारिजातको फूल, कर्कलाको पातलगायत सामग्री लिन पृथ्वीमा आउँदा पक्डिएकाले इन्द्रजात्राको परम्परा सुरु भएको भन्ने गरिन्छ । प्राचीनकालदेखि नै विजयको प्रतीकका रुपमा इन्द्रजात्रा मनाउन थालिएको विश्वास गरिन्छ ।

मल्लकालदेखि इन्द्रजात्रामा कुमारी जात्रा पनि गर्न थालिएको हो । मल्लराजा यात्रामा सँगसँगै रथमा बसेर हिँड्ने चलन थियो । पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछि भने दाम राखेर ढोग्ने परम्परा सुरु भएको हो । प्राचीनकालमा भारत वर्षभर इन्द्रजात्रा गर्ने परम्परा भए पनि मुस्लिमको आक्रमण भएका स्थानमा यो परम्परा टुटेको छ ।

नेपाल भने बाह्य शक्तिको नियन्त्रणमा नपरेकाले वैदिक कालदेखि नै यो परम्परा निरन्तररुपमा चलेको विश्वास गरिन्छ । आधुनिक इतिहास भने मल्लकालदेखि मात्र इन्द्रजात्रा सुरु भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।

मल्लकालसम्म भाद्र शुक्ल एकादशीका दिन गरिने इन्द्रध्वजोत्थान शाहकालदेखि भने भाद्र शुक्ल द्वादशीका दिन गर्न थालिएको हो । पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछि पनि यहाँको संस्कृतिलाई आत्मसात् गर्दै यो परम्परालाई निरन्तरता दिइएको इतिहासका पुस्तकमा उल्लेख छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७