सभापतिबाट ‘ब्याक’ हुन्नँ : प्रकाशमान सिंह


२ आश्विन २०७८, शनिबार
Prakashman

काठमाडौं, २ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनभित्र रहेका केही दलभित्रको आन्तरिक व्यवस्थापनको अलमलका कारण मन्त्रीपरिषद विस्तारमा ढिलाई भएको बताएका छन् ।

आज (शनिबार) गणेशमान सिंहको २५ औं स्मृति दिवसको अवसरमा गणेशमान सिह फाउन्डेसनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच कुरा नमिल्दा मन्त्रीपरिषद विस्तार हुन ढिलाई भएको बताए । उनले अब छिटै सरकारले पूर्णता पाउने बताए ।

कम्युनिष्टहरुको दुई तिहाईको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेपछि गठबन्धन निर्माण भएको सिंहले बताएका छन् । उनले कम्युनिष्टहरू असफल हुँदा त्यसको प्रतिफल स्वरुप नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको बताए । कांग्रेस नेतृत्वको सरकारले जनताको भावना अनुसार काम गर्नेमा विश्वास रहेको उनको भनाई थियो ।

नेता सिंहले पार्टीको १४ औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए । उनले पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको भन्दै विवाद भएका जिल्लामा विधिविधान अनुसार समाधान गर्नुपर्ने बताए । ‘पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको छ,’ उनले थपे, ‘महाधिवेशन निष्पक्ष तवर गर्नु पर्दछ । विवाद भएका जिल्लामा विधिविधान अनुसार समाधन गर्न सभापति लगायत सम्पूर्ण नेताहरु लाग्नु पर्दछ ।’

अर्को प्रसङ्गमा नेता सिंहले साझा उम्मेदवारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको जानकारी दिएका छन् । तर आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने उनको भनाइ छ । उनले सर्वोच्च नेता गणेशमान सिंहले नेपालको राजनीतिमा पुर्‍याएको योगदानको स्मरण गरे । जस्तोसुकै अप्ठयारो परिस्थितीमा पनि गणेशमान सिंहले नेपाली जनताको सेवा गर्न नछोडेको उनले बताए । साथै काँग्रेस पार्टी मजबुत बनाउन गणेशमान सिंहको अमूल्य योगदान रहेको नेता सिंहको भनाइ थियो ।

कार्यक्रममा पूर्वमन्त्री राजेन्द्रकुमार केसी, कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, किरण गिरी, कांग्रेस काठमाडौं सभापति सबुज बानियाँलगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७