आलोचना बढेपछि प्रधानमन्त्रीले सार्वजनिक गरे सरकारले गरेका १५ कामको सूची


२ आश्विन २०७८, शनिबार
E ieZO3VkAAOw2X gTmrKJ71uh

काठमाडौं, २ असोज । सरकारले काम गर्न नसकेको भनेर चौतर्फी आलोचना बढिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले विभिन्न १५ कामको फेहरिस्त सार्वजनिक गरेको छ ।

सरकार गठन भएको दुई महिनाभन्दा धेरै समयसम्म पनि मन्त्रिपरिषद् विस्तार समेत गर्न नसकेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ । तर प्रधानमन्त्री देउवाको सचिवालयले सरकारले गरेका महत्वपूर्ण १५ वटा कामको सूची सार्वजनिक गरेको छ ।

निर्णय मात्रै भएका विषयलाई पनि महत्वपूर्ण कामको सूचीमा राखिएको छ । कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकता, योग्य र अनुभवी व्यक्तिलाई उपयुक्त निकायमा जिम्मेवारी दिने नीतिअनुसार विद्युत् प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्ति, एकैदिन ३ लाख मात्रासम्म कोरोना विरुद्धको खोप दिइएको, १८ वर्षमुनिका बालबालिकालाई ४० लाख मात्रा मोर्डनाको खोप ल्याउने विषय टुङ्ग्याएको, बाढी र पहिरो पीडितको उद्धार, राहत र पुनः स्थापनालाई तीव्रता दिइएको सरकारको दाबी छ ।

यस्तै कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थानको लागि विशेष प्याकेज ल्याएको, सरकारी कर्मचारीको तलब बढाएको, क्यान्सर, मिर्गौला र स्पाइनल इञ्जुरीका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ दिने निर्णय भएको, पाँच लाख गरिब परिवारलाई मासिक १० हजार रुपैयाँ दिने निर्णय भएको, काठमाण्डौका १० ठाउँमा सस्तोमा भोजनको व्यवस्था गरिएको, विद्यार्थी लक्षित पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन हुने विषय पनि १५ वटा कामको सूचीमा समावेश छ ।

यस्तै भूमि आयोगको गठन, एमसीसीमा राष्ट्रिय सहमतिको पहल, प्रमुख प्रतिपक्षीलाई विश्वासमा लिन अनौपचारिक छलफल र संवाद, त्रिचन्द्र कलेज र घण्टाघर पुनर्निर्माणको निर्णयलाई पनि सरकारले महत्वपूर्ण कामको सूचीमा राखेको छ । सरकारले सार्वजनिक गरेका कामको सूचीमा रहेका धेरै विषयको काम सुरु नै भएको छैन । सरकारले धेरै काम गरे पनि काम नै नभएको हल्ला फैलाएपछि काम विवरण सार्वजनिक गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७