जनगणनाका लागि सुपरीवेक्षक गाउँगाउँमा


२ आश्विन २०७८, शनिबार
janaganana 8ubJcCUS7M

बैतडी, २ असोज । राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणको गणनाका लागि सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । उनीहरुले घरघरमा पुगेर सूचीकरण फारम भर्न थालेका छन् ।

सूचीकरणका लागि जिल्लाभरी ८० सुपरीवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए । यही असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको जनगणनाअन्तर्गत घर, परिवारलगायतको गणना भइरहेको छ । ‘सुपरीवेक्षकले घरको विवरण, घरमूलीको नाम, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएकोलगायत २० प्रश्न सोध्ने काम जारी छ’, उनले भने । गत भदौ ३० गतेदेखि गाउँगाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्कलनमा समस्या भएको पन्तको भनाइ छ ।

भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलनको काम प्रभावित भएको छ । उनले भने, ‘सुपरीवेक्षकले मोबाइल एपको सहायतामा घरघरमा गएर दैनिक तथ्याङ्क सङ्कलन गर्नुपर्छ, तर सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा समस्या भएको छ ।’ सदरमुकामस्थित दशरथचन्द, पाटन नगरपालिका बाहेक अन्य स्थानीय तहमा खटिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्कलन गर्न समस्या भएको छ ।

सुपरीवेक्षकका सुरक्षाका लागि प्रहरी टोली खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । विसं २०६८ को जनगणना अनुसार जिल्लाको जनसंख्या दुई लाख ५० हजार ८९८ रहेको छ । पहिलो चरणमा सङ्कलन गरिएको तथ्याङ्कका आधारमा मूल गणना गरिने छ ।

मूल गणना अगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ । प्रत्येक दश दश वर्षमा जनगणना गरिन्छ । यसपालिको जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागिता : राष्ट्रिय जनगणना, २०७८’ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७