फेवाताल मिच्नेलाई चैनले सुत्न दिंदैनौं : वाईसीएल


२ आश्विन २०७८, शनिबार
thumb 9

कास्की, २ असोज । योङ कम्युनिष्ट लिग (वाईसीएल) संयोजक सुमन देवकोटाले पोखरामा फेवाताललगायत प्राकृतिक सम्पदा अतिक्रमण गर्नेलाई चैनले सुत्न नदिने चेतावनी दिएका छन् । प्रेस संगठन कास्कीले आज (शनिबार) पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले फेवाताल मिच्नेहरूलाई चैनको निद्रा सुत्न नदिने र सडकमा ल्याउने चेतावनी दिए ।

‘हाम्रो प्राकृतिक सम्पदा रक्षाको लागि हिजो पनि वाईसीएल अग्रपंक्तिमा लडेको थियो, आज पनि लड्छ, भोलि पनि लड्ने छ,’ उनले भने, ‘वाईसीएलले सौहाद्र्धपूर्ण हिसाबले हार्दिकताका साथ सरकारसँग माग गर्छ । माग सम्बोधन भएन भने प्राकृतिक सम्पदालाई आफ्नो निजी सम्पत्तिका रुपमा कब्जा गर्ने अपराधीलाई सडकमा निकाल्ने काम वाईसीएलले गर्छ ।’

सामाजिक अपराधविरुद्ध वाईसीएल आन्दोलनकारीको भूमिकामा प्रस्तुत हुने उनले बताए । प्रत्येक स्थानीय तहमा भएका भ्रष्टाचारलाई खोतल्न हरेक पालिकामा वाईसीएलले ‘स्पेसल टास्क फोर्स’ बनाउने योजना उनले सुनाए । पत्रकार सम्मेलनमा उनले यसअघिको सरकारले कोरोना महामारीमा गरेको भ्रष्टाचारका कारण अहिले देशमा चरम आर्थिक संकटको अवस्था आएको आरोप लगाए । प्रतिपक्षको हर्कतले महँगी २ देखि ३ सय प्रतिशतले बढेको दाबी उनले गरे ।

उनले संसद्मा अत्यन्त तुच्छ भूमिकामा प्रतिपक्ष देखिएको बताए । ‘कि संसदीय व्यवस्थाको खिल्ली उडाउँदै प्रश्न उठाउन सक्नु प¥यो । शासकीय स्वरूप बदल्ने माओवादीको एजेण्डामा साथ दिनपर्‍यो,’ उनले भने, ‘होइन भने, अहिलेकै व्यवस्थाबमोजिम चल्ने हो भने संसद् चल्न दिनुप¥यो । बजेट पास गर्न दिनुपर्‍यो ।’

संसदीय व्यवस्था पनि नछोड्ने र संसद् चल्न पनि नदिने अन्तरविरोधका बीच एमालेको भूमिकाले मुलुकलाई दुर्घटनातर्फ धकेल्ने उनको भनाइ थियो । संविधान, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रलाई बचाउन जुनसुकै आन्दोलन गर्न वाईसीएल तयार रहेको उनको भनाइ थियो ।

युवालाई उत्पादनसँग जोड्ने गरी वाईसीएलले बनाएका विभिन्न योजनालाई साथ दिँदै अर्थमन्त्रीले बनाएका योजना कार्यान्वयनमा आफ्नो भूमिका रहने उनले उल्लेख गरे । ‘अब ठूल्ठूला बन्द उद्योग युवाले चलाउने गरी योजना बनाएका छौं,’ गण्डकी प्रदेशमा रहेका भृकुटी कागज कारखाना र गोरखकाली रबर उद्योगको उदाहरण दिँदै उनले भने, ‘उद्योग चलाएर हजारौं युवालाई रोजगारी दिन्छौं । उद्योगलाई आत्मनिर्भर बनाउँछौं । सरकारलाई नाफा पनि दिन्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७