अष्ट्रेलियाको बन्द सीमानाले विछोडिन पुगेका जोडी र परिवारहरुको व्यथा


३ आश्विन २०७८, आईतवार
th lives upended by australian covid rules 11631982863

काठमाडौं, ३ असोज । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सिमाना बन्द गराएको १८ महिना भइसकेको छ । कोभिड–१९ नियन्त्रण गर्न अष्ट्रेलियाले यसैलाई मुख्य उपायका रुपमा अपनाउँदै आएको छ । एक वर्षदेखि प्रधानमन्त्री स्कट मरिसनको मन्त्र नै ‘अष्ट्रेलियनहरुको जीवनलाई लिएर म कुनै जोखिम मोल्दिन’ भन्ने रहेको थियो ।

र धेरै हिसाबमा यो नीतिले काम पनि गरेको देख्न सकिन्छ । सिड्नी र मेल्बर्नमा नयाँ संक्रमितहरु बढिरहे पनि महामारी सुरु भएदेखि त्यहाँ कोभिडले मृत्यु हुनेको संख्या १,१०० भन्दा केही बढी मात्र रहेको छ । विश्वव्यापी रुपमा केबल ३० राष्ट्रमा मात्र कोभिड मृत्युदर यति थोरै छ ।

तर पछिल्ला केही महिना बिस्तारै सबै ठाउँ खुल्दै गए पनि अष्ट्रेलियामा भने केही निश्चित छैन । शून्य कोभिडको नीति प्रति यसले हार मानिसकेको छ । तापनि अझै अधिकांश अष्ट्रेलियनहरु या त भित्रै थुनिएका छन् या बाहिर अड्किएका छन् । अहिलेका लागि राष्ट्रिय योजनामा ८० प्रतिशत योग्य नागरिकहरुले पूरा डोज खोप लगाइसकेपछि अन्र्तराष्ट्रिय भ्रमण फेरि खुलाउने कि भनेर छलफल भइरहेको छ । त्यस्तै होटल क्वारेन्टिनको विकलपमा घरैमा आइसोलेसनमा बस्ने विषयबारे पनि विचार भइरहेको छ ।

तर दुईवटै डोज खोप लगाउनेको दर हाल ४० प्रतिशत मात्र रहेको छ । किशोर वर्गहरुका लागि भर्खर मात्र खोप लगाउन सुरु गरिँदै छ । त्यस्तै शून्य कोभिड संक्रमण कायम राख्दै आएको पश्चिम अष्ट्रेलियाले यसलाई निरन्तरता दिन अझै लामो समयसम्म यात्रा नखुलाउने संकेत दिइरहेको छ । यसबीच सयौं मानिसहरु अन्यायमा परेका छन् । उनीहरुले परिवारसँगको आफ्नो विछोडको कथा यसरी सुनाएका छन् :

आमाको अन्तिम संस्कार छुटाउनु पर्दा

अहिलेको नियममा अष्ट्रेलियन नागरिक र स्थायी निवासीहरु फेरि फर्कने गरि देश छाड्न चाहन्छन् भने उनीहरुलाई विशेष छुटका लागि अनुमति माँग्नुपर्ने हुन्छ । प्रायः अवस्थामा उनीहरुले कम्तीमा तीन महिनासम्म बाहिरै बस्नमा सहमति जनाउनुपर्छ । यसमा दशौं हजार नागरिकले त्यस्तो छुट पाएका छन् तर दशौं हजारको अनुरोध अस्वीकार पनि गरिएको छ ।

जस्तै क्रिस्टिना सेलस्ट्रोम सिड्नीमा बस्छिन् र गत जुलाइमा उनकी आमा यिल्भाको स्वीडेनमा अचानक मृत्यु भयो । क्रिस्टिनाका अनुसार देश छाडेर पुनः फर्किने सम्बन्धी अनुमति दुई पटकसम्म अस्वीकार गरियो । यस्तोमा उनले आफ्नी आमाको अन्तिम संस्कार छुटाउनु प¥यो र अनलाइनबाटै हेरेर चित्त बुझाउनु पर्‍यो ।

उनी भन्छिन्, ‘मेरो परिवारले सबै समारोह शान्तिपूर्ण रह्यो भनेको छ तर सानो फोनबाट कार्यक्रम हेर्दा मलाई केही शान्ति महसुस भएन । म वास्तवमा त्यहाँ आफ्नै स्वार्थका कारण पनि उपस्थित हुन चाहन्थे । अचानक आइपरेको दुःख, मानसिक पीडा र ठूलो पारिवारिक झट्का यी सबलाई स्वीकार्नकै लागि म जान चाहान्थेँ । मलाई भाइलाई एक्लै छाडेकामा पनि एकदम पछुतो भइरहेको छ । छोरीको हैसियतमा म त्यहाँ गएर उनलाई सम्मान दिन चाहन्थे । कम्तीमा त्यो स्तरको बिदाइ त उनको अधिकार नै हो जस्तो मलाई लाग्छ । तर उनीहरु अनावश्यक रुपमा क्रुरता देखाइरहेका छन् । यो एकलौटी नियमले कुनै परिस्थितिमा पनि छुट दिँदैन रहेछ ।’

१८ महिनादेखि विछोडिएका जोडीको मर्म

छुटिएर बस्नु परेका अर्का एक जोडीले पनि आफ्नो पीडा यसरी नै सुनाए । मीकी सिड्नीका एक संगीतकार हुन् । र उनकी पार्टनर केथरिन रेल्फ हाल यूकेमा छन् ।

उनी भन्छन्, ‘हामी दुवै क्रुजमा काम गर्छौँ र पछिल्लो पाँच वर्षदेखि सँगै थियौं । तर महामारी सुरु भएपछि हामीले एकअर्कालाई देख्नै पाएका छैनौं । हामीले उनलाई अष्ट्रेलिया ल्याउन धेरै अनुरोध गर्‍यौं तर स्वीकृत हुन सकेन । मैले वकिलहरुलाई उनलाई भिसा दिलाउनकै लागि भनेर धेरै पैसा तिरें । तर अझै केही निर्णय हुन सकेको छैन । जुन २०२२ का लागि भनेर युरोपमा मेरो काम पनि बुक भइसकेको छ तर बन्द सीमाना, उडानको शुल्क लगायत विभिन्न कारणले मैले देश छाड्न पाउने ग्यारेन्टि नै छैन ।’

अन्तिम अवस्थामा रहेकी आमालाई कसरी भेटेर आउने ?

त्यस्तै रेचल मर्सिनाक हाल यूकेमा बसिरहेकी छन् र ३० हजार अन्य अष्ट्रेलियनहरु जसरी नै उनी पनि घर फर्किन चाहन्छिन् । तर क्वारेन्टिन होटलसम्बन्धी कडा नियमका कारण हरेक हप्ता केही सय मानिसहरुले मात्र त्यस्तो अवसर पाइरहेका छन् । यति मात्र नभएर क्वारेन्टिनमा बस्न झण्डै ३ हजार अष्ट्रेलियन डलर खर्च लाग्छ भने उडान पनि उत्तिकै महङ्गो छ ।

यसमा केही समयका लागि मात्र अष्ट्रेलिया आएकाहरुले समेत पछि देश छाड्न विशेष अनुमति प्राप्त गर्नुपर्ने हुन्छ । रेचल भन्छिन्, ‘मेरी आमा मेल्बर्नमा हुनुहुन्छ र उनलाई फोक्सोको क्यान्सर छ । अहिले उनलाई दुखाइ कम गर्ने औषधि दिएर अन्तिम अवस्थामा राखिएको छ । त्यसैले मलाई छिटो भन्दा छिटो उनलाई भेट्न जानुछ । तर घर फर्किने कुरा यतिबेला अत्यन्तै सघर्षपूर्ण बनेको छ ।’

उनले थप आफ्नो स्थितिबारे बताइन्, ‘म २००६ देखि लन्डन बस्दै आएकी छु । र मेरो परिवार पनि त्यहीं छ । मैले आमालाई अन्तिम चोटी डिसेम्बर २०१७ मा आफ्नी जेठी छोरीलाई भेटाउँदा देखेकी थिएँ । उहाँले कान्छि छोरीलाई त देख्नु भएकै छैन तर एकदम मन गरिरहनु भएको छ । यसकारण पनि हाम्रो अवस्था ह्दयविदारक छ । म केहीगरि अष्ट्रेलिया पुगिहालेँ भनेपनि लन्डन फर्कन मैले विभिन्न अनुमति माँग्नुपर्ने हुन्छ । यस्तोमा म फेरि आउन सक्ने निश्चित नभइ कसरी मेरो परिवार , मेरो यहाँको जीवनलाई छाडेर जाने ? यता हाइ–प्रोफाइल व्यक्तिहरु चाहिँ सजिलै ओहोरदोहोर गरिरहेका हुन्छन् । तर हामी अष्ट्रेलियन नागरिक भएर पनि आश मात्र गरेर बस्नु परिहेको छ ।’
नयाँ अभिभावकको संघर्ष

भर्खर आमा बनेकी मेहेताब मोलेमी पनि आफ्ना चुनौतिहरु सुनाउँछिन् । भर्खर जुडुवालाई जन्म दिएकी उनले गर्भावस्थामा मद्दत गर्न भनेर इरानबाट आफ्नी आमालाई बोलाउन तीनपटकसम्म आवेदन दिएको तर स्वीकृति नपाएको बताइन् ।

उनी भन्छिन्, ‘आमाले पूरा डोज खोप लगाइसक्नु भएको छ । तरपनि आउन दिइएन । यसले मेरो जीवनमा वास्तवमै ठूलो प्रभाव पारेको छ । जुडुवा शिशुहरुको हेरचाह पूर्ण रुपमा आफैँ गर्न म तयारै थिइनँ ।’ यही कारण उत्पन्न एन्जाइटीले स्तनपान गराउन नसकेको पनि उनले बताइन् ।

‘पर्थमा हाम्रा केही साथी छन् तर व्यवहारिक सहयोग गर्न सक्ने कोही छैन । मेरा पति अष्ट्रेलियन भएकाले म इरान जान मिलेन । त्यसैले अहिले हामी अर्कै देशमा बसाइँ सर्ने की भनेर गम्भीर भएर विचार गरिरहेका छौं’, उनले दुःखी हुँदै बताइन् ।

केही नलागेपछि घरबार सबै बेचेर हिंड्नुपर्ने भयो

कतिपय मानिसहरुले त अति भयो भनेर आक्रोश पनि जनाएका छन् । जस्तै मेरिसा पार्किन एक अमेरिकी नागरिक हुन् र उनका पति इआन बेलायती हुन् । उनीहरुले केही समय अगाडि मात्र अष्ट्रेलियामा आफ्नो घरबार सबै बेचेर इङ्ल्याण्डमा नयाँ जीवन सुरु गर्न देश टाड्ने निर्णय गरेका हुन् ।

उनी भन्छिन्, ‘हामी अत्यन्तै दुःखी छौँ । हाम्रो यहाँको जीवन राम्रो थियो । दुवैको एकदम राम्रो जागिर थियो, सुन्दर घर थियो र हाम्री छोरी पनि यहिँ जन्मिएकी हुन् । त्यसैले हामीले यो ठाउँ सधैँका लागि छाडेर जानु पर्ला भन्ने कहिल्यै सोचेका थिएनौँ । तर हामीले पछिल्लो १८ महिनादेखि आफ्नो परिवारलाई भेट्न पाएका छैनौं । त्यसैले बाध्य भयौँ ।’

सुरुमा त हामीले अवस्थालाई बुझ्ने प्रयास गरि सबै स्वीकार्‍यौ तर बिस्तारै यो क्रम लम्बिदै गयो । हामी केबल आफूलाई भाग्यशाली ठानिहेका छौं कि हामीसँग अन्य विकल्पहरु पनि छन् तर यो निर्णयले हाम्रो मुटु पनि भारी बनेको छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७