संविधान दिवस : बाबुरामले पल्टाए पुरानो डायरी, सम्झिए ती दिन


३ आश्विन २०७८, आईतवार
baburam sambidhan

काठमाडौं, ३ असोज । असोज ३ गते (आज) संविधान सभाबाट बनेको संविधान जारी भएको दिन अर्थात् संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै छ ।

यस सन्दर्भमा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना दिइरहेका छन् भने संविधानबारे आआफ्ना धारणा तथा स्मरण पनि सार्वजनिक गरिरहेका छन् । यसै सन्दर्भमा जनयुद्धका एक योद्धा, पूर्व प्रधानमन्त्री हाल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो संविधान सभाकालीन डायरी पल्टाएका छन् ।

२०७२ असोज ३ गतेको संविधानसभा डायरीको फोटोकपी सामाजिक सञ्जालमा राख्दै उनले ‘संविधान दिवस, असोज ३ को तीतो सत्य’ भनेर आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ‘जनयुद्ध, जनआन्दोलन, मधेस विद्रोह, थारू विद्रोह, जनजाति आन्दोलनलगायत नेपाली जनताको सात दशकसम्मको बलिदानीपूर्ण संघर्षको बलमा निर्वाचित संविधानसभाबाट पहिलोपटक संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने संविधान जारी भएको दिन हुनाले यसलाई ‘कालो दिन’ भनेर पूरै नकार्नु सही नभएको’ डा. भट्टराईले बताएका छन् ।

तर अर्कातिर ‘बहुजातीय-बहुभाषिक मुलुकमा सबैको पहिचान र अधिकारसहितको संघीयता नहुनु, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदसहितको शासकीय प्रणाली नहुनु, महिलालाई नागरिकताबारे संविधानमै विभेद हुनु आदिले संविधान संशोधनमार्फत यी कुरा नसच्याइएसम्म यो दिनमा धेरै हर्षबढाइँ र उफ्रीपाप्री गर्नु पनि शोभनीय नभएको’ उनको भनाइ छ ।

डा. भट्टराईले अगाडि लेखेका छन्, ‘त्यसैले, हामीले सुरुदेखि नै यो संविधानलाई ‘आधा गिलास भरी, आधा गिलास खाली’ भनेका हौं । अतः आधा गिलासको रक्षा गरौं र आधा गिलास भर्न संघर्ष जारी राखौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७