बुद्धभूमि नेपाल हाइड्रोपावरले आठ करोड बराबरको आईपीओ जारी गर्दै


३ आश्विन २०७८, आईतवार
IPO

काठमाडौं, ३ असोज । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असोज ११ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकत्ता १०० रुपैयाँ अंकित मूल्यमा साधारण सेयर जारी गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणका लागि आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ । सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्ट्याएर बाँकी रहेको सात लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र बढीमा ५० हजार कित्ता आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ छिटोमा असोज १४ गतेसम्म भर्न पाइने छ । उक्त अवधिमा माग अनुसारको आवेदन नपरेमा ढिलोमा असोज २५ गतेसम्म आवेदन दिने अवधि थप हुनेछ ।
आईपीओमा सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने छन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी आईआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

कम्पनीले तल्लो ताँदीखोलामा ४.९९३ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल लागत एक अर्ब १९ करोड रुपैयाँ अनुमान गरिएको छ । यो आयोजनाको प्रतिमेगावाट लागत २३ करोड आठ लाख रुपैयाँ रहेको छ । आयोजनाले ०६९ चैत २७ गते अनुमतिपत्र प्राप्त गरेको थियो । उक्त अनुमतिपत्रको बहाल अवधि २१०४ चैत १६ गतेसम्म रहने छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.४९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ८.५८ वर्ष रहेको छ ।

आर्थिक वर्ष ०७७/०७८ को अपरिस्कृत विवरणानुसार कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५६ पैसाले नोक्सानीमा रहेको छ भने तीन करोड ६८ लाख ३२ हजार ९०५ रुपैयाँ सञ्चित नोक्सानीमा रहेको आयोजनाको प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ४९ पैसा रहेको छ । कम्पनीले चालु आर्थिक वर्ष ०७८ /०७९ बाट सञ्चित नाफामा जाने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७