यी पत्रकारले गरे सरकारको पदक अस्वीकार, यी हुन् तक्मा पाउने पत्रकार


प्रकाशित मिति : September 19, 2021

काठमाडौं, ३ असोज । नयाँ पत्रिकाका प्रधान सम्पादक कृष्ण ज्वाला देवकोटाले सरकारले दिएको पदक अस्वीकार गरेका छन् ।
देवकोटाले आज समाजिक सञ्जालमा लेख्दै सरकारले संविधान दिवसको अवसरमा प्रदान गरेको सुप्रबल जनसेवाश्री पदक अस्वीकार गरेको जानकारी दिएका हुन् ।

सरकारले पदक दिएकोमा सरकारलाई धन्यवाद दिदै देवकोटा लेखेका छन्, ‘पदक वितरण विवेकपूर्ण तथा पारर्दशी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीका नाताले आफै पदक स्वीकार गर्नु नैतिक हुने देखिनँ । नेपाली पत्रकारितामा थोरै पनि हस्तक्षेप गर्न सकेको भए मलाई सामाजिक प्रेरणा नै प्रर्याप्त छ ।’

यस्तै संविधान दिवस २०७८ को अवसरमा सरकारले प्रदान गर्ने पदक अस्वीकार गर्नेहरुको सूचीमा पत्रकार हरिबहादुर थापा पनि छन् । यसअघि कार्टुनिष्ट रविन सायमीले सरकारबाट पदक नलिने घोषणा गरेका थिए । इकागज डटकमका प्रधानसम्पादक थापाले सामाजिक सञ्जालमार्फत पदक अस्वीकार गरेको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।’

विगतमा आफूलाई पदकका लागि पटक पटक सोधिएको र अस्वीकार गरेको भन्दै उनले यसपालि भने सोध्दै नसोधी पदक पाउनेहरुको सूचीमा आफ्नो पनि नाम आएको उल्लेख गरेका छन् । उनले पदक वितरणको विधि र पारदर्शितामा खुला बहस हुनुपर्ने पनि जनाएका छन् । थापा लेख्छन्, ‘राज्यले सम्मान नै गर्नु हुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ । कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ ।’

अर्का पत्रकार नारायण अमृतले पनि सरकारी विभूषण अस्वीकार गर्ने निर्णय लिएका छन्। उनले संविधानप्रति अगाध स्नेह र सम्मान भए पनि भागवण्डा गरेर दिइने सरकारी पदक नलिने घोषणा गरेका हुन् । उनले संविधान दिवसमा बाँडिने पदक, अलङ्कारलाई बिस्कुनको संज्ञा दिएका छन् । ’संविधान दिवसमा बिस्कुन बनाइने मानपदवी, विभूषण र अलंकार वितरणको अपारदर्शी प्रक्रियाप्रति म सण्धैं असहमत हुँदै आइरहेको छु’, उनले भनेका छन् । सरकारले संविधान दिवस २०७८ को अवसरमा ९ सयभन्दा बढीलाई पदक दिने निर्णय गरेको छ ।

यी हुन् राष्ट्रपतिबाट तक्मा पाउने पत्रकार

संविधान दिवसका अवसरमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरूलाई मानपदवी, अलङ्कार र पदक दिने सार्वजनिक गरिएको छ । सरकारले पदकका लागि सिफारिस गरेका उनीहरू राष्ट्रपति विद्या भण्डारीबाट विभूषित हुनेछन् ।

राष्ट्रपतिबाट विभूषित हुने पत्रकारहरूमा सुप्रबल जनसेवाश्री तारानाथ दाहाल, सुरेश आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतिक प्रधान र हरिबहादुर थापालाई दिइने भएको छ । पत्रकार ज्वाला र थापाले विभूषण अस्वीकार गरेका छन् । यस्तै कीर्तिमय राष्ट्रद्वीप विभूषण पत्रकारहरू ओम शर्मा, गुणराज लुइटेल र महेश्वर दाहाललाई दिइने भएको छ ।

पत्रकारहरु बद्री सिग्देल, ऋषि धमला, अजयबाबु शिवाकोटी, नेत्र के.सी., माधव ढुंगाना, मुकुन्द दाहाल, दिलभूषण पाठक, विश्वमणि पोखरेल, प्रकृति अधिकारी, कविर राणा, रविन सायमी, रवि मिश्र, अनिता बिन्दु, समा थापा, डा. बालकृष्ण चापागाई, मोहम्मद सदरुल, शालिग्राम सुवेदी, गोविन्द धिताललाई प्रवल जनसेवाश्री दिने घोषणा भएको छ ।

कार्टुनिस्ट रविन सायमीले पनि सो पदक अस्वीकार गरेका छन् । भरतबन्धु थापा, भुवन शर्मा, दीपक खरेल, गिरिजाप्रसाद अधिकारी, प्रभातकुमार झा, नारायण अमृत (विभूषण अस्वीकार), चन्द्रशेखर कार्की, किसन राई, खगेन्द्र अधिकारी, सुनील महर्जन, विष्णु खड्का, रेखा भूसाल, बृजकुमार यादव, आकाङ्क्षा शाह, नरेन्द्रकुमार साउद, लीला बराल, राममाया भट्टराई, भवानी कार्की, बृजलाल पासवान, डम्बरबहादुर अधिकारी र दीपेन्द्र श्रेष्ठलाई जनसेवाश्री पदक घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्