‘हनि ट्रयाप’ मा पारी १८ लाख असुलेको आरोपमा तीन महिला पक्राउ


३ आश्विन २०७८, आईतवार
hony

दाङ, ३ असोज । ‘हनि ट्रयाप’ मा पारेर १८ लाख रुपैंयाँ असुलेको आरोपमा प्रहरीले दाङबाट तीन महिलालाई पक्राउ गरेको छ । पुरुषलाई होटलमा बोलाएर ‘हनि ट्रयाप’ मा पारी रकम असुलेको आरोपमा प्रहरीले दाङ घोराही उपमहानगरपालिका–१५ का ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुस्मा परियारलाई पक्राउ गरेको हो ।

उनीहरुले होटलमा खाजा खान बोलाएर यौन दुर्व्यवहार गरेको भन्दै झुटो आरोप लगाएर १८ लाख रुपैयाँ असुलेको भन्दै पीडितले प्रहरी कार्यालयमा जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । ती पुरुषलाई कोहीनुर रेष्टुरेन्टमा बोलाएर शुरुमा बियर र मासु खाएका थिए । पछि महिला मातेपछि बिल तिरेर जान खोज्दा पनि उनीहरु होटलबाट निस्कन नमानेको र उल्टै आफूमाथि महिलाले ‘मेरो इज्जतमा हात हाल्ने’ भन्दै जवरजस्ती करणीको मुद्दा हाल्छु भन्दै धम्क्याएका थिए ।

गत असार ६ गते बेलुका त्यति भइसकेपछि आ–आफ्नाे घरतर्फ गएका थिए । तर ७ गते सीतादेवीले मुद्दा दर्ता गर्छु भन्दैछ, तपाईले मिलाउनु पर्छ हामी पनि मिलाउँछौं भन्दै खुमाले ती पुरुषलाई बोलाएको बताइएको छ । यो मुद्दा प्रहरी कार्यालय पुग्न नदिनका लागि केही पैसा दिनु पर्ने उनीहरुको शर्त थियो । आफ्नो मान प्रतिष्ठामा असर गर्छ भन्दै केही पैसा दिन उनी तयार भएका थिए । तर महिलाहरुले ती पुरुषसँग ५० लाख रुपैयाँ माग गरेका थिए ।

एक लाख रुपैयाँ नगद त्यतिबेलै दिएका उनले १७ लाख रुपैयाँको चेक दिएका थिए । प्रहरीले सीतादेवीको कोठाबाट उक्त रकम र चेक समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यसरी गैरकानुनी तरिकाले चरित्र हत्या गर्ने तथा आपराधिक लाभ लिनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७