एमालेमा अध्यक्षसहित सबै प्रत्यक्ष निर्वाचित हुने, ७० वर्षे उमेर हद कायमै


३ आश्विन २०७८, आईतवार
amale

काठमाडाैं, ३ असोज । पार्टीभित्र असन्तुष्टि बढेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्षसहितका सबै पदाधिकारीहरु प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्था प्रस्ताव गरेको छ । दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ ।

आज (आइतबार) शुरु भएको स्थायी कमिटी बैठकमा पेश भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा ७० वर्षे उमेर हद कायमै राख्ने उल्लेख गरिएको छ । नवौं महाधिवेशनदेखि एमालेमा ७० वर्षको उमेर हदको व्यवस्था राखिएको थियो । तर अध्यक्ष केपी शर्मा ओली पक्ष सहभागी स्थायी कमिटी बैठकले यसअघि उमेर हदको प्रबन्ध हटाउने निर्णय गरेको थियो ।

‘उमेर हद र कार्यकारी पदमा दुई पटक भन्दा बढी दोहोरिन नपाउने प्रस्ताव कायमै छ’, एक स्थायी कमिटी सदस्यले भने । १० बुँदे सहमति कार्यान्वयनको निर्णय हुनुअघि ओली पक्षका नेता मात्रै सामेल बैठकले भने महाधिवेशनबाट पार्टी अध्यक्षमात्रै निर्वाचित हुने प्रस्ताव गरेको थियो । जसमा पदाधिकारी भने अध्यक्षले मनोनित गर्ने प्रस्ताव थियो । तर आइतबार स्थायी कमिटी बैठकमा पेश भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा भने सबै पदाधिकारी महाधिवेशनबाटै निर्वाचित हुने उल्लेख गरिएको छ ।

असोजको १५ देखि १७ गते हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि स्थायी कमिटी बैठकमा आइतबारदेखि छलफल शुरु भएको छ । उक्त प्रस्तावमाथि आइतबार उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु अमृतकुमार बोहरा, केशव बडाल र पुष्प कँडेलले टिप्पणी राखेका छन् । विधान महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव माथि सोमबार पनि छलफल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७