संखुवासभा हत्याकाण्ड : मुख्य योजनाकार लोकबहादुरका काका, थप चार आरोपी सार्वजनिक


प्रकाशित मिति : September 20, 2021

संखुवासभा, ४ असोज । संखुवासभा सामुहिक हत्याकाण्डमा नयाँ मोड देखा परेको छ । प्रहरीले यसअघि स्थानीय लोकबहादुर कार्कीले मात्रै ६ जनाको हत्या गरेको बताएपछि थप अनुसन्धान गर्ने क्रममा अन्य चार जनाको संलग्नता देखिएको र मुख्य योजनाकार पनि अर्कै रहेको खुलासा भएको छ ।

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा भएको ६ जनाको सामूहिक हत्याकाण्ड रिसिइबी र लुटपाटको उद्देश्यबाट भएको खुलासा भएको छ । सोमबार संखुवासभामा प्रहरीले पत्रकार सम्मेलन गर्दै घटनामा ५ जनाको संलग्नता रहेको भन्दै उनीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार तेजबहादुर र उनकी श्रीमती कमला कार्कीको हत्या गर्ने र हत्या अन्यले देखेमा उनीहरुको पनि हत्या गरी धनमाल लुट्ने योजना बनाएको प्रहरीले जनाएको छ । हत्याको मुख्य योजनाकार लोकबहादुर कार्कीको काका खड्गबहादुर कार्की रहेको पनि प्रहरीले बताएको छ ।

लोकबहादुरका काका ४७ वर्षीय खड्गबहादुर कार्की मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । खड्गबहादुरका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, लोकबहादुरका बुबा ४९ वर्षीय रणबहादुर कार्की र लोकबहादुरका भाइ १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको हो ।

उनीहरुलाई पत्रकार सम्मेलन गरी प्रहरीले सोमबार सार्वजनिक गरेको संखुवासभाका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले जानकारी दिए । भदौ २१ गते बिहान संखुवासभाको मादीका एकै परिवारका ६ जनाको हत्या भएको थियो । परिवारका ८४ वर्षीया पार्वती कार्की, ५५ वर्षीय तेजबहादुर कार्की, ५४ वर्षीया कमला कार्की, ३२ वर्षीया रन्जना कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्