८ वर्षपछि ‘गुण’ को उडान शुरु, बालबालिकालाई निःशुल्क


४ आश्विन २०७८, सोमबार
gun airlines2 ODcN9dUbro

काठमाडौं, ४ असोज । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा शुरु गरेको छ । एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित असोज १ गते शुक्रबारबाट आफ्नो नियमित आन्तरिक उडान शुरु गरेको हो । काठमाडौं–चितवन पहिलो उडान गरेको एयरलाइन्सले दोस्रो उडान काठमाडौं–पोखरा भरेको छ ।

एयरलाइन्सले आफूहरू कसैको प्रतिस्पर्धी बनेर यस क्षेत्रमा नफर्किएको जनाएको छ । कम्पनीका सिइओ बालकृष्ण श्रेष्ठले यात्रुलाई सुरक्षित र मनोरञ्जनात्मक तरिकाले गन्तव्यसम्म पुर्‍याउनु आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् । पुरानै ब्राण्डमार्फत आफूले कम्पनीलाई अघि बढाउने सोचका साथ आफूहरू आएको उनको भनाइ छ ।

गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले दुई वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई निःशुल्क उडान र वृद्धवृद्धा र ज्येष्ठ नागरिकहरुलाई केही छुटको व्यवस्था गरेको बताए । उनले पहिला आफूसँग भएको अमेरिकन विचक्राफ्ट र नयाँ जेट स्ट्रिम पाँच वटा थप गरेर ७ वटा विमान सञ्चालनमा ल्याएको बताए ।

अहिले भरतपुर र पोखरा उडान गरिरहेको एयरलाइन्सले हप्ता दिनभित्र विराटनगर, भैरहवा, सिमरा, तुम्लिङ्गटार र सुर्खेत लगायतका स्थानमा उडान भर्ने कम्पनीको योजना छ । गुणसँग २ विचक्राफ्ट १८ सिटको क्षमताका छन् भने जेटस्ट्रिम ३० सिट क्षमताका हुन् ।

२००९ मा स्थापना भएको गुण एयरलाइन्स २०१३ मा सिम्रिकमा परिवर्तन भएको थियो । कोरोनाको महामारी जारी नै रहेको कारण एयरलाइन्सले स्वास्थ्यका मापदण्ड पूर्ण रूपमा अपनाएरु उडान शुरु गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७