बुढीगण्डकी आयोजनामा ढिलाइ हुनु लज्जास्पद मात्र होइन देशलाई अर्बौको क्षति : डा. भट्टराई


४ आश्विन २०७८, सोमबार
Baburam bhattarai in maitighar

काठमाडौं, ४ असोज । जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलाइ हुनु लज्जास्पद मात्र नभई देशका लागि अर्बौको क्षति भइरहेको बताएका छन् ।

सोमबार बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले काठमाडौंको माइतीघरमा शुरु गरेको दबावमुलक धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउँदै भट्टराईले ७ वर्षभित्र बनिसक्नुपर्ने बुढीगण्डकी जलविद्युत आयोजनाको काम ८ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्नु लज्जास्पद भएको बताए ।

उनले आफू प्रधानमन्त्री हुँदा बुढीगण्डकी आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा पारेर बुढीगण्डकी विकास समिति बनाई अन्तर्राष्ट्रिय संस्थामार्फत डीपीआर बनाउने र यसको विस्तृत परियोजना अनुरूप कार्यान्वयन गर्ने प्रक्रिया र मुआब्जा वितरण गर्ने प्रक्रिया सुरु भएको भए पनि विचौलियाको कारण हालसम्म काम सम्पन्न नभएको दाबी गरे ।

‘यो कसरी बनाउने, कसलाई ठेक्कापट्टा दिने, कसले कति कमिसन खाने भन्ने जस्ता बखेडाहरू झिकेर यो परियोजना ढिलो गरिनु अत्यन्त लज्जास्पद छ । स्थानीय जनतालाई विस्थापित गरेर, बेघरबार गरेर अन्यत्र धपाउने र त्यहाँ बनाएको परियोजनाबाट केही टाठाबाठाले लाभ लिने र राज्यको दोहन गरेर जनतामाथि शासन गर्ने बिडम्बनापूर्ण अवस्था छ । जनताले जुन जायज माग उठाएका छन्’, उनले भने ।

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना प्रभावितहरूले राखेका विभिन्न मागहरू पूरा गर्न गर्न सरकार जिम्मेवार नभएको भन्दै आजदेखि काठमाडौंस्थित माइतीघर मण्डलामा दबावमुलक धर्ना सुरु गरेका छन् । धर्ना एक हप्तासम्म हुने सरोकार समितिका संयोजक हरेराम ढकालले जानकारी दिए ।

आयोजना प्रभावितले बुढीगण्डकी डुबान क्षेत्रको व्यक्तिगत जग्गाको मुआब्जा मात्र दिएको तर जग्गामा बनेको घर, संरचना, फलफूलका बोटविरुवाको मुआब्जा निर्धारणसम्म नगरेको भन्दै समितिले घर, गोठ, संरचना र बोटविरुवाको यथार्थ लगत सकंलन गर्न, तत्काल मूल्य निर्धारण गरी वितरण गर्न र घर गोठ लगायतका भौतिक संरचनाको मुआब्जामा ह्रासकट्टी नगर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७