ठूला उद्योगलाई मागे जति विद्युत उपलब्ध गराउन प्रशारण क्षमता सुदृढ गर्छाै : प्राधिकरण

होङ्शी सिमेन्टलाई तीन महिनाभित्रमा विद्युत


४ आश्विन २०७८, सोमबार
Transmission Line Kulman1632134522
फाइल फोटो

काठमाडौं, ४ असोज । नेपाल विद्युत प्राधिकरणले विद्युत् खपत बढाउने योजनाअन्तर्गत ठूला उद्योगहरूलाई मागे जति विद्युत उपलब्ध गराउन निर्धाणाधीन प्रशारण तथा वितरण लाइन र सबस्टेसन आयोजनाहरूको निर्माणलाई जतिसक्दो छिट्टो सम्पन्न गर्ने जनाएको छ । प्राधिकरणले विद्युत खपत बढाउन योजनाबद्ध रूपमा पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाएको जनाएको छ ।

प्रशारण तथा वितरण लाइनको क्षमता अभावमा उद्योगीहरूलाई मागेअनुसार विद्युत उपलब्ध गराउन नसक्ने र उत्पादित विद्युत खपत गर्न नसकी वित्तीय नोक्सानी बेहोर्नुपर्ने अवस्था आएपछि प्राधिकरणले खपत बढाउने योजना अगाडि सारेको जनाएको छ ।

उद्योगीहरूले मागे जति विद्युत नपाएको गुनासो गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार र आइतबार हेटौडा, सिमरा, वीरगञ्ज, भरतपुर, परासी, भैरहवा औद्योगिक करिडोर क्षेत्रको स्थलगत अवलोकन गरी सञ्चालनमा रहेका र निर्माणाधीन प्रशारण तथा वितरण लाइन, सबस्टेसनहरूको अवस्थाका बारेमा जानकारी लिएका छन् । त्यस क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सबस्टेसन आयोजनाहरू निर्माणाधीन छन् ।

सिमरा र विरगञ्ज क्षेत्रका उद्योगहरूको विद्युत आपूर्तिलाई विश्वसनीय बनाउन हेटौडा–परवानिपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनमा नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली लाइनको क्षमता बढाउने काम भइरहेको प्राधिकरणले छ । यो काम सम्पन्न भएपछि त्यस क्षेत्रमा थप विद्युत आपूर्ति दिन सकिने छ । निर्माणाधीन हेटौडा–ढल्केबर ४०० केभी प्रशारण लाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सबस्टेसन निर्माण गर्ने र अमलेखगञ्जमा रहेको सबस्टेसनबाट थप फिडर निकाली विद्युत आपूर्तिको सम्भावनाका विषयमा पनि घिसिङले छलफल गरेका छन् ।

नपलपरासीको परासी क्षेत्रमा सञ्चालित उद्योगहरूलाई विद्युत आपूर्तिका लागि सुनवलमा १३२/३३ केभी सबस्टेसन निर्माणाधीन छ । सबस्टेसनको निर्माण आगामी चैतभित्रमा सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको छ । ‘सबस्टेसन सञ्चालनमा आएपछि त्यहाँबाट थप ९० मेगावाट विद्युत उद्योगहरूलाई दिन सकिन्छ भने आपूर्ति पनि विश्वसनीय हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भने ।
रूपन्देहीको भैरहवा औद्योगिक करिडोरमा रहेका उद्योगहरूलाई विद्युत आपूर्तिका लागि बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन र मैनहिया १३२ /३३ /११ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ ।

होङ्शी सिमेन्टलाई तीन महिनाभित्रमा विद्युत
चिनियाँ लगानीमा खुलेको होङ्शी सिमेन्टलाई तीन महिनाभित्रमा विद्युत् आपूर्ति दिन सकिने प्राधिकरणले जनाएको छ । उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रशारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति दिन लागिएको प्राधिकरणले जनाएको छ ।

भरतपुर–बर्दघाट २२० केभी प्रशारण लाइनको बीच खण्डबाट ‘ट्यापिङ’ गरी होङ्शी सिमेन्टलाई विद्युत आपूर्ति दिन लागिएको हो । उद्योगको क्षमता विस्तार गर्न लागेकाले होङशीले करिब ८० मेगावाट विद्युत माग गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७